मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरुलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाटसमेत राजीनामा घोषणा गरेका थिए । उनले प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाउन गएका छन् ।
‘प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाउन जानु भएको छ । मन्त्रिपरिषद्को बैठकपश्चात् मन्त्रालयगत सचिवहरुसँग भेटेर उहाँले बिदाइ लिनु भएको छ,’ आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले भने ।
उनले दलको नेताबाट राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो । हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय गरेको सांसद अरुण नेपालले जानकारी दिए ।
अब वाग्मती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य संविधानको धारा ७६ (१) अनुसार बहुमतको आधारमा नियुक्त हुनेछिन् । उनले आफूसँग बहुमत रहेको दाबी गर्दै प्रदेश प्रमुख प्रसाईं समक्ष मुख्यमन्त्रीको दाबी गर्ने सांसद सुरेश नेपालले बताए । ‘माननीय अष्टलक्ष्मीले आजै शपथ लिनुहुन्छ । हामी आन्तरिक गृहकार्य गरिरहेका छौं,’ नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलाका अनुसार राति ८ बजे शपथ लिने गरी तयारी भइरहेको छ ।