April 25, 2024, Thursday
२०८१ बैशाख १४
1:37:26 pm

कमलामाईका मेयर खड्गको ‘बर्थ डे’: फुटाए खुत्रुके, खडा गरे कोष

२०७७ फाल्गुन १५

2.3K

सिन्धुली । कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जन्मदिनको अवसरमा कोष खडा गरेका छन् । जन्मदिनको अवसर पारेर उनले ४ लाख ५७ हजार ७२० रुपैयाँको कोष खडा गरेका हुन् ।

विभिन्न कार्यक्रममा प्राप्त भत्तावापतको प्राप्त रकम खुत्रुकेमा जम्मा गरेका थिए । सो खुत्रुके आज फोरेर हेर्दा जम्मा भएको ४ लाख ५७ हजार ७२० रुपैयाँको कोष स्थापना गरेका हुन् । भत्तापावत आएका रकमहरु उनले खुत्रुकेमा जम्मा गर्ने गरेका थिए । राजनीतिक दलका नेताहरु, पत्रकार तथा समाजसेवीहरुको उपस्थितिमा उनले खुत्रुके फोरेका थिए । कार्यक्रममा सबैले सो रकम गनेका थिए ।

सो कोषको नाम खड्ग–शान्ता प्रवद्र्धन कोष राखिएको छ । सो कोष आफू मातहत नराखी एक संस्थाको रुपमा स्थापना गरेका छन् । जसको अध्यक्षमा सूर्य पाख्रिन छन् । सचिवमा हरि अधिकारी र कोषाध्यक्षमा उनकै छोरी अम्बिका खत्री छन् । आजै सो रकम कोषका अध्यक्ष पाख्रिनलाई हस्तान्तरण गरे । कोषबाट प्राप्त व्याजबाट स्वास्थ्य, शिक्षा र वातावरणमा सहयोग गर्दै जाने जानकारी दिइएको छ ।

Advertisement

कार्यक्रममा उपस्थित सबैले मेयर खत्रीलाई राम्रो काम गरेको भन्दै प्रशंसा गर्दै जन्मदिनको अवसरमा शुभकामना दिएका थिए । उनले पाएको भत्ता संकलन गरी सामाजिक कामका लागि गरेको कामलाई सबैले प्रशंसा गरेका छन् ।