काठमाडौँ – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रमा आंशिक बदली रही मध्य र पूर्वमा भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन, तर स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रमा आंशिक बदली हुने देखिएको हो ।
हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अरु स्थानमा मौसम सामान्यतया सफा हुने मौसमविदले बताएका छन् ।
यस्तै राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । यस्तै तराईका भू–भागमा हुस्सु–कुहिरोको अझै सम्भावना रहेको छ ।