September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

कुष्ठरोग निवारणमा गण्डकी प्रदेश पहिलो

355

गण्डकी – आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग । यो एक किसिमको ज्यादै कम सर्ने रोग हो । पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ ।

चिकित्सकका अनुसार मानिसबाट मानिसमा सर्ने यो रोग उपचार नगरेको कुष्ठरोगी बिरामीसँग लामो समयसम्म (कम्तीमा हप्तामा २० घण्टाभन्दा बढी समयसम्म) सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट सर्दछ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेका यो अरुलाई सर्दैन । तथ्याङ्कअनुसार कुष्ठरोगको निवारणमा गण्डकी प्रदेश पहिलो स्थानमा देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले आर्थिक वर्ष २०७६÷७७ मा उपचारत र नयाँ बिरामी सङ्ख्याको आधारमा गण्डकी प्रदेश कुष्ठरोगको निवारणमा पहिलो देखिएको हो ।

Advertisement

गत आर्थिक वर्षको अन्त्यमा उपचाररत बिरामीको प्रकोप(प्रिमिलेन्स) दर प्रति १० हजार जनसङ्ख्यामा सबैभन्दा बढी प्रदेश नम्बर २ मा ०.८९ रहेको छ भने गण्डकीको ०.४० रहेको छ । त्यस्तै लुम्बिनीमा ०.८३, सुदूरपश्चिममा ०.७८, प्रदेश नं १ मा ०.५९, वाग्मतीमा ०.५७ र कर्णालीमा ०.४७ बिरामीको प्रकोपको सुचाङ्क रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्मा आइपुग्दा मुलुकमा कूल उपचाररत सङ्ख्या २०४४ रहेको थियो भने सोही आर्थिक वर्षको अवधिमा एक हजार ८५३ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुष्ठरोगका नयाँ बिरामीमध्ये प्रदेश नं. २८४, २ मा ६००, वाग्मतीमा २०८, गण्डकीमा ९१, लुम्बिनीमा ४७८, कर्णालीमा ५५ र सुदूरपश्चिम प्रदेशमा १३७ जना पत्ता लागेका हुन ।

गत आवको तथ्याङ्कअनुसार प्रति १० हजार जनसङ्ख्यामा कुष्ठरोग लागेर उपचाररत बिरामीको प्रकोप (प्रिमिलेन्स) दर एकभन्दा बढी भएकामा ललितपुर, झापा, बाँके, धनुषा, नवलपरासी (पश्चिम) पर्सा, कैलाली, कपिलवस्तु, रुपन्देही र अछाम गरी १० वटा जिल्ला छन्् । सोही सङ्ख्या र अवधिमा रोगको प्रकोप दर शून्य हुने ११ जिल्ला छन् । यसमा ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, पर्वत, रुकुम (पूर्व) हुम्ला र मुगु हुन् । सन् १९९१ मा विश्व स्वास्थ्य सङ्गठनको महासभाले सन् २००० सम्ममा विश्वबाट कुष्ठरोग निवारण गर्ने निर्णय गरेको थियो । नेपाल पनि विश्व स्वास्थ्य सङ्गठनको सदस्य राष्ट्र भएको हुँदा सन् २००० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिई विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीतिगत निर्णय गरी त्यसअनुरुप अघि बढे पनि विभिन्न कारणवश निवारण गर्ने लक्ष्य सन् २००३, सन् २००५, सन् २००७ र सन् २००८ हुँदै बढ्दै गएकामा सन् २००९ मा नेपालबाट कुष्ठरोग निवारण गर्न नेपाल सरकार सफल भएको हो । नेपाल सरकारले २०६६ साल माघ ५ गते (१९ जनवरी २०१०) मा कुष्ठरोग निवारण भएको घोषणा ग¥यो ।

निवारण भन्नाले हाल विद्यमानप्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम कुष्ठरोगीको चापमा ल्याई यसलाई जनस्वास्थ्यको समस्याका रुपमा रहन नदिनुलाई बुझिन्छ । तथ्याङ्कले हाल नेपालको प्रिभलेन्स दर ०.६९ रहेको जनाइएको छ ।