February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

प्रदेश १ नामाकरण : पहिचानवादीको दुखेको मन, खसेको आँशु

२०७९ फाल्गुन १७

1.6K

विराटनगर । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ वा ‘किराँत लिम्बुवान सगरमाथा प्रदेश’ राख्ने विषयमा सांसदहरु छिन्नभिन्न मात्र भएनन भावुक समेत हुन पुगेका छन् । सडकमा प्रदर्शन समेत भएको छ ।

बुधबार प्रदेश सभाको बैठकमा सांसदहरुको फरक फरक धारणा आएको छ प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आँशु नै बगाइन । उनले आफू बोलेको अधिकांश समय रोएरै विताइन । उनले त्यसक्रममा पहिचान सहितको नामकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासो गरिन् ।

संविधानसभाका साझा सहमतिको मर्म र भावनालाई सम्मान गर्ने आधार मानि यस प्रदेशको नाम किरात लिम्बूवान सगरमाथा हुनुपर्ने उनले बताइन् । उनले आफूमाथि अपमान भएको गुनासो गरिन । उनले भनिन,‘खोला, नाला र पहाडलाई पहिचान चाहिएको होइन । तर मानव समुदायलाई चाहिएको थियो । तिनै मानव समुदायलाई किरात र लिम्बूवान प्रदेश चाहिएको थियो ।’ तर दुई तिहाइ सांसद ‘कोशी प्रदेश’नामकरण हुनुपर्ने पक्षमा उभिएपछि उनी चिन्तित बनेकी थिइन ।

Advertisement

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी पहिचानका आधारमा नाम राख्नुपर्छ भन्ने पक्षमा रहेपनि संसदीय गणित अनुकुल नभएकोमा चिन्ता व्यक्त गरे । ‘ हाम्रो पार्टी पहिचानको आधारमा नाम राख्नुपर्छ भन्ने प‍क्षमा छ’, उनले भने, ‘तर आजको संसदीय गणित हाम्रो अनुकुल रहेन ।’ अघिल्लो प्रदेशसभामा पहिचानको पक्षमा बढी मत देखिएको बताउँदै उनले अहिले प्रदेशसभामा पहिचानको पक्षधरको उपस्थिति कमजोर भएको बताए ।

बुधबार नै नेपाली कांग्रेस र सत्तारूढ दल एमालेले संयुक्त रूपमा प्रदेशको नाम ‘कोशी’ प्रदेश राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता गराएका हुन् ।

सत्ताको नेतृत्व गरिरहेको एमाले र विपक्षी कांग्रेस एकमत भएर प्रदेशको नाम राख्न लागेपछि माओवादी केन्द्रले पनि यसमा अवरोध नगर्ने, फरक मत नराख्ने भएको थियो । यसैगरी, प्रदेश १ को ‘किरात लिम्बुवान सगरमाथा’ राख्न प्रदेश सभामा अर्को प्रस्ताव दर्ता भएको थियो । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरिएको हो ।

उक्त नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका छन् ।

प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका थिए । प्रदेश नामकरणका लागि एक जना प्रदेश सांसदको प्रस्तावमा दुई जना सांसदले समर्थन गरेको प्रस्ताव प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीसमक्ष दर्ता गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।

प्रदेशको नाम प्रदेश सभामा कायम सदस्य संख्याको दुई तिहाई मतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । दुई तिहाइका लागि ६३ जना सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेश सभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद रहेका छन् ।

तर कोशीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभामा कमजोर बनेको थियो । बैठकमा प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका थिए भने प्रस्तावको विपक्षमा चार जनाले हात उठाएका थिए । दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

यता, सडकमा पहिचानवादीहरुले प्रदर्शन समेत गरेका छन् । नामाकरणको विषयमा प्रदेशसभामा बहस चलिरहँदा प्रदेशसभा भवन बाहिर भने पहिचान पक्षधरहरुले धर्ना तथा प्रदर्शन गरेका हुन । लिम्बूवान किरात सङ्घर्ष समितिले विराटनगरको प्रदेशसभा भवन अगाडिको देवकोटा चोकमा नारा जुलुस गरेका हुन् । उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद !, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका छन् ।