फिदिम । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले व्यवसायिक तथा श्रमजीवि पत्रकारहरुमा नयाँ जागरण ल्याउन देशभर क्षमता अभिबृद्धिका कार्यक्रमहरु शुरु भएको बताएका छन् ।
उनले एक बर्षमा देशभर ७३ वटा तालिम र एक पालिका एक पत्रकार उत्पादनको अभियान चाँडै शुरु हुने बताए । युनियनलाई विधि र थितिमा अगाडि बढाउन आफू प्रतिबद्ध रहेको पनि उनले बताए ।
पाँचथरको फिदिममा तीन दिने आधारभूत पत्रकारिता (अनलाइन तथा मल्टिमिडिया समेत) तालिमको समापन समारोहमा बोल्दै मंगलबार विगत एक दशकदेखि क्षमता अभिबृद्धिका कार्यक्रमहरु ठप्प रहेकाले अब नव निर्वाचित कार्यसमितिले देशभर व्यवसायिक पत्रकारहरुमा जागरण ल्याउने बताए । ‘संगठनलाई चलायमान राख्न र श्रमजीवि पत्रकारहरुमा न्यू मिडियामा अभ्यस्त गराउन तालिम जरुरी भइसकेको छ, उनले भने,‘संचार क्षेत्रको व्यवसायिक विकासका लागि संचारकर्मीहरुमा क्षमता अभिबृद्धिका कार्यक्रमहरुमा सहयोग गर्न सम्पूर्णमा आग्रह गर्दछु ।’
पत्रकारको पेशागत हकहित र सुरक्षाको प्रत्याभूतिको निम्ति प्रेस यूनियन डटेर सामना गर्ने पनि उनले बताए । प्रेस युनियन पाँचथरको आयोजनामा गत शनिबार देखि शुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । जिल्लामा विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा कार्यरत संचारकर्मीलाई क्षमता अभिवृभि गर्ने लक्ष्य राखेर तालिमको आयोजना गरिएको आयोजक युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीले बताए ।
तालिमको सहजिकरण नेपाल प्रेस यूनियनका केन्द्रिय उप-महासचिव युवराज गौतम,यूनियनका पूर्व केन्द्रिय सचिव चिन्तामणि दाहाल,नेपाल प्रेस यूनियन तथा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतमले गरेका थिए । तालिममा उप–महासचिब गौतमले मल्टिमिडियाका बारेमा आधारभूत ज्ञान दिलाएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति रुपनारायण जवेगु, नेपाली कांग्रेस प्रदेश १ कमिटी सदस्य तथा फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले, उप-महासचिव गौतम, नेपाली कांग्रेस जिल्ला सचिव दीपक नेपाल, यूनियनका केन्द्रिय सदस्य भिमकुमार बास्कोटा, नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटी उपाध्यक्ष लवदेव ढुंगाना, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गिरीराज बास्कोटा, नेपाल प्रेस यूनियनका पूर्व अध्यक्षहरु विपेन्द्र गौतम, लक्ष्मी गौतम, प्रेस चौतारी पाँचथरका उपाध्यक्ष दुर्गा खनाल, पाँचथर एफ।एम।का स्टेशन म्यानेजर कविन्द्र शेर्मा लगायतले मन्तब्य राखेका थिए ।
युनियनका उपाध्यक्ष राधा खनालले स्वागत मनतब्य ब्यक्त गर्नुभएको कार्यक्रमको संचालन युनियनका जिल्ला सचिव सरोज शर्माले गरेका थिए ।
