May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

मधेस प्रदेश र गण्डकी प्रदेशलाई पर्यटकीय करिडोरको रुपमा जोड्नका लागि पहल गरिने

२०७८ फाल्गुन २१

1.3K

धनुषा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशलाई पर्यटकीय करिडोरको रुपमा जोड्नका लागि पहल गर्ने बताएका छन् । मधेस प्रदेशको भ्रमणमा आएका पोखरेलले दुवै प्रदेशलाई समृद्ध बनाउने मुख्य अधार पर्यटन भएको बताउदै दुई प्रदेशलाई करिडोरको रुपमा जोड्ने बताएका हुन् ।

बुद्ध एयरको पोखरा–जनकपुरको पहिलो उडानमा जनकपुर आएका मुख्यमन्त्री नेपालीले मधेस प्रदेशको वीरगन्जसँगको आर्थिक सम्बन्ध रहेको र जनकपुरसँग पर्यटकीय करिडोर बनाउने बताए । ‘प्रदेशको समृद्धिको मुख्य आधार पर्यटनलाई प्रवर्द्धन गर्ने पहल सुरु भएको छ । मधेस प्रदेशको भ्रमणको क्रममा पर्यटकीय करिडोर बनाउने अधार र सम्भावनाहरुको अध्ययन गर्ने छु । सम्भावना देखिएको योजनामा मधेससँग सहकार्य गर्नेछौं ।’, मुख्यमन्त्री पोखरेलले भने ।

उनले संघीयतालाई संस्थागत गर्न, मजबुत गर्न र प्रदेश सरकारको सम्बन्ध पनि सुढृढ हुनु पर्ने मान्यताका साथ मधेस प्रदेशको भ्रमणमा आएकोे बताए । मुख्यमन्त्रीसँगै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल, पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, मुख्य सचिवसहित उद्योग वाणिज्य संघका प्रतिनिधिहरु तीन दिवसीय मधेस भ्रमणका लागि शनिबार जनकपुर आएका हुन् ।

Advertisement

भ्रमणमा आएका गण्डकीका मुख्यमन्त्री सहितको टोलीलाई प्रदेश २ का उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, भौतिक पूर्वाधर विकासमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहसहितको टोलीले स्वागत गरेका थिए ।