February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

झरही नदी पसेपछि परासी बजार डुबानमा, एक बालक बेपत्ता

3.8K

नवलपरासी-  विहीबार रातिदेखि परेको अविरल भारी वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ । सदरमुकाम हुँदै बगेको झरही नदी ओभरफ्लो भई परासी बजारमा बाढी पसेको हो । बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा परेका छन् ।

बजारको पूर्व झरही नदी र पश्चिम रावनखन्डा खोलाको बाढी बजारमा पसेर जिल्लाको रामग्राम नगरपालिका परासी बजारमा पर्ने नगरपालिकाको वडा नम्बर–१ सहुवाटिकर, वडा नम्बर–२ को मस्जिदटोल, हाटबजार टोल, वडा नम्बर–३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नम्बर–५ को प्रशासन टोल ड्राइभर टोल, इमलीटोल, बुध्चोक्टोल र वडा नम्बर–६ पोखरापाली टोले पुरै डुबानमा परेको छ भने नगरका अरु वडा र क्षेत्रहरु बर्षाको पानीले जलमग्न भएको छ ।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र आर्मी ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसि डुबानमा परेको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिएका छन् ।

Advertisement

डिएसपी लामाले भने, ‘अहिले पानी परिरहेको छ, बढ्दो बाढीले कतै मुभ हुन सकिएको छैन । जिल्लामा कहाँ के भएको छ पता लगाउन सकिएको छैन भने बजारको वास्तविक क्षतिको विवरण समेत संकलन पनि गर्न सकिएको छैन ।’

उनका अनुसार बाढीको पानी घरमा पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायत भिजेका छन् । यता पूर्व पश्चिम राजमार्गमा सुनवल नगरपालिकाको बडेरा, बनक्टी र ज्यामिरे स्थित डाइभर्सन पनि भत्केर आवागमन अवरुद्ध भएको छ । बाढीको तीव्र बहावले डाइभर्सन पुरै डुबानले डाइभर्सन बगेको कि भत्केको भने पुरै यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

राजमार्गमै सुनवल–४ को तुरिया पुल पनि भाँचिएर भएर राजमार्गमा अवरुद्ध भई आवागमन पूर्णरुपमा ठप्प भएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्लाको सरावल, पाल्हिनादन, प्रतापपुर र सुस्ता गाउपालिका र रामग्राम, सुनवल बर्दघाट नगरपालिकाको केही वडाहरू बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ ।

यता सुनवल नगरपालिका–४ को एक १४ बर्षीय बालक बेपत्ता परेको प्रहरीले जनाएको छ । बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको कि कता परेको भने यकिन हुन सकेको प्रहरीको भनाइ छ ।

विभिन्न नदी र खोलामा बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
रातभरिको झरीले विभिन्न नदी र खोलामा बाढी आएको छ । रौतहटमा वागमती नदीले खतराको तह पार गरेको छ । चितवन र नवलपरासीमा नारायणी नदी, रुपन्देहीमा तिनाउ, कपिलवस्तुमा बाणगंगा, सिन्धुलीमा कोशी र वागमती नदीमा पनि पानीको सतह बढ्ने गरी ठूलो पानी परिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी, कोशी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । मौसमविद्का अनुसार अबको केही दिन देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना छ ।