May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

माधव नेपालको दल दर्ता, डेढ महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

2K

काठमाडौं –  माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने यसअघि नै सहमति भइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति भएको डेढ महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । एमालेबाट अलग भएका माधव नेपालको नयाँ पार्टी दर्ता भएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाको तयारी थियो ।

माधव नेपाल र महन्थ ठाकुरलाई नयाँ दल गठनमा सहज हुने गरी अध्यादेश ल्याएपछि निर्वाचन आयोगले हिजो (बुधबार) नेताहरुको सनाखत गरेर दुवै दललाई मान्यता दिएको छ । अब सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १५२ सांसद पुगेका छन् ।

Advertisement

प्रमुख प्रतिपक्ष एमालेमा अब ९८ सांसद भएका छन् । निर्वाचन आयोगले हिजो नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएको हो ।

माधव नेपालै फेरि पनि निर्णायक
आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसदमा चौथो ठूलो दल बनेको छ । सरकारलाई स्पष्ट बहुमत पुर्‍याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने देखिन्छ ।

नेता नेपालले एमालेमै हुँदा प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने राजनीतिक र कानुनी संघर्षमा निर्णायक भूमिका खेलेका थिए । नेपाल नयाँ दलसहित गठबन्धनमा निर्णायक शक्तिका रूपमा देखिएका छन् । नेपालको भूमिकालाई उच्च मूल्यांकन गर्दै शक्ति बाँडफाँडमा गठबन्धनले उनलाई प्राथमिकतामा राखेको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले ८ जेठमा दोस्रोपटक संसद् विघटन गरेपछि एमालेकै नेपाल समूहसहित पाँच दलको विपक्षी गठबन्धन बनेको थियो । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै प्रधानमन्त्रीमा विपक्षी दलका नेता देउवालाई नियुक्त गर्न परमादेश दिए लगत्तै विपक्षी गठबन्धन सत्ता गठबन्धन बनेको थियो ।