May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

पाँच प्रदेशमा भारी वर्षा, तीन प्रदेशमा धेरै ठूलो पानी पर्ने सम्भावना

5K

काठमाडौं –  देशभर मनसुन फेरि सक्रिय भएको छ । आज (बिहीबार) देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–२, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको देखिन्छ । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

Advertisement

प्रदेश–१, प्रदेश–२, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

केही दिनदेखि मनसुन थप सक्रिय हुँदा देशका धेरै भागमा पानी परिरहेको छ । ‘नेपालको पूर्वी तराईको भू–भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण केहीदिन अगाडिबाट मनसुन केही सक्रिय रहेको छ । बुधबार रातीबाट न्यून चापीय रेखा अझ तराई भू–भाग नजिक आएको र केही दिनसम्म सोही क्षेत्रमा रहने सम्भावना रहेको छ’, विभागले भनेको छ, ‘सो प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र झरीको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश– २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’