March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

साप्पाटाको छुद्दरीमा सुक्खा पहिरो : १५० परिवार जोखिममा, कर्णाली नदी थुनिने खतरा

4.6K

बाजुरा- बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयवासीले बताएका छन् ।

गाउँपालिकाको रुणी गाउँको तल्लो भाग र छुद्दरी गाउँको नजिकै रहेको भिरमा लगातार सुक्खा पहिरो खस्न थालेको हो । गाउँको मुनिबाट दुई दिनदेखि निरन्तर पहिरो खस्न थालेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टि रहेको भिरमा पहिरो खस्न थालेपछि नदी थुनिने खतरासँगै गाउँपालिका केन्द्रमा समेत जोखिम बढेको छ । कर्णाली नदीमा ढुङ्गा, माटो जम्मा हुने थालेको छ ।

लगातार दुई दिनदेखि पहिरो आउने क्रम जारी रहेकाले जुड्डी आसपासका क्षेत्रमा जोखिम बढेको छ । पहिरोका कारण रूणी गाउँका १५० घरधुरी उच्च जोखिममा रहेको स्थानीयवासी नन्दबहादुर खत्रीले बताए । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टिबाट लगातार पहिरो बगेका कारण कर्णाली नदी थुनिएमा गाउँपालिकाको कार्यालय र सोही क्षेत्रमा रहेको प्रहरी चौकी समेत जोखिममा रहने गाउँपालिकाका रोजगार संयोजक जोशीले बताए । उनका अनुसार सुक्खा पहिरो बग्दा ठूला ढुङ्गा आउने गरेकाले सोही ढुङ्गाले नदी थुनिने जोखिम बढेको छ । पहिरो खतरा नै भइनसकेको प्रहरीले जनाएको छ ।

Advertisement

कान्द्रा नदीले हुलाकी सडक बगायो
यता कैलालीको कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिका–५, लालबोझीस्थित हुलाकी सडक बगाएको छ । नदी कटानले करिब डेढ सय मिटर सडक बगेको स्थानीयले बताएका छन् । नदीमा पानीको बहाव बढेसँगै कटान तीव्र भएपछि दर्जन भन्दा बढी घर जोखिममा परेका छन् ।

हुलाकी सडक नदी कटानले बगाउँदा त्यहाँबाट सवारीसाधन आवत–जावत ठप्प भएको छ । स्थानीयले खेतको आलीबाट हिँडडुल गरिरहेका छन् । सवारीसाधन घुमेर वैकल्पिक बाटो प्रयोग गर्नुपरेको स्थानीय आशारामा चौधरीले बताए । वैकल्पिक बाटो धेरै घुम्नुपर्ने र हिलाम्य हुँदा सास्ती खेप्नुपरिरहेको उनले बताए । ‘बाटो बगिसक्यो, छेउछाउनजिकका घरहरू जोखिममा छन्,’ चौधरीले भने, ‘बाढी बढे कटानले धेरै ठूलो क्षति गर्छ ।’

ग्राभेल गरिएको हुलाकी सडक कटान भएको हो । कटान नरोकिएकाले सडकमा थप क्षति भइरहेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले बताए । नदी कटानको उच्च जोखिम रहेको भन्दै त्यहाँ करिब पाँच सय मिटर हुलाकी सडक कालोपत्रे हुन सकेको छैन । त्यसको पूर्व–पश्चिम दुवैतिर सडक कालोपत्रे भइसकेको छ ।

त्यहाँ तटबन्धसहितको सडक निर्माणका लागि डिपिआर तयार भएको आयोजना कार्यालयले जनाएको छ । ‘त्यो ठाउँमा करिब पाँच सय मिटर सडक कटानको जोखिममा रहेकाले कालोपत्रे नगरिएको हो,’ मडैले भने, ‘डिपिआर बनेको छ, विभागले स्वीकृत गरेपछि टेन्डर हुन्छ ।’ तटबन्धसहितको सडक बने स्थानीयका घर र खेतबारी नदी कटानबाट जोगिने छन् ।