काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो ।
बैठकमा पार्टी एकता गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने कुरामा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा आजसम्म ५५ जना केन्द्रीय सदस्यहरुले पार्टी एकताका विषयमा धारणा राखेका छन् । यसरी बोल्ने केन्द्रीय सदस्यहरुमध्ये आधाजसोले एमाले एकता गर्न अहिलेसम्मको गल्तीका लागि ओलीले सार्वनजिक रुपमा माफी माग्नुपर्ने मत राखेका हुन् । माधव पक्षीय केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार ओलीले माफी नमागेसम्म एमाले एकतामा जान नहुने अडान नेताहरुले राखेका थिए ।
‘मूल कुरा सम्मानजनक एकता हो । तर एकताको प्रयास कहिलेसम्म भन्ने पनि हुन्छ,’ अर्का केन्द्रीय सदस्य निरज आचार्यले भने । एकता वार्तालाई अब धेरै लम्ब्याउन नहुने सुझाव नेताहरुले दिएको उनले बताए । ‘एकताको नाममा अल्मलिन हुँदैन । हामीलाई झुलाइरहन यस्तो गरिएको हो कि भन्ने आशंका धेरै नेताहरुले गर्नुभएको छ,’ उनले भने । प्रतिनिधिसभा विघटनबारे ओलीले माफी माग्नुपर्ने पनि केही नेताहरुले तर्क गरेका थिए ।
‘पार्टी एकतामा जाने कुरामा दुईमत छैन । एकता गर्ने कुरामै सबै तयार छौं । पार्टी एकतामा जान पनि केपी ओलीले जे अपराध र बेठीक गरेका छन् । ती कुरामा जनता र कार्यकर्तासँग क्षमा याचना गर्नुपर्छ भन्ने उठेको छ’, उनले भने, ‘बैठकमा नयाँ पार्टी बनाउनु पर्छ भन्ने कुरा पनि उठेको छ । केपी ओली अध्यक्ष रहेसम्म एमाले एक हुन सम्भावना नहुने कुरा नेताहरुले राख्नु भएको छ ।’
ओलीलाई एमाले अध्यक्ष नै स्वीकारेर निर्वाचनमा जान नसकिने पनि उनीहरुको भनाइ थियो । ‘निर्वाचनमा गइसकेपछि हामीले कसरी भोट माग्ने, कुनै आधार नभएकाले पहिले ओलीको बहिर्गमन हुनुपर्छ । कि ओली नेकपा एमालेमा रहनु भएन कि ओलीलाई हटाउनु प¥यो । यदि हामीले ओलीलाई हटाउन नसकेमा नयाँ पार्टी बनाएर पनि जानुपर्छ,’ बैठकमा नेताहरुको भनाइ उद्धृत गर्दै उनले भने, ‘केपी ओलीलाई हामीले साउन २४ सम्मको अल्टिमेटम दिएका छौं ।’
एक हप्ताभित्र सार्वजनिक रुपमा माफी नमागे एकता नहुने उनको तर्क थियो । ‘एक हप्ताभित्र तिमी सार्वजनिक रुपमा माफी माग र पार्टी एकताका लागि वातावरण बनाऊँ भनेका छौँ’, उनले भने, ‘यदि त्यसो नभएम हाम्रो विचार समूहले तलसम्म कमिटी बनाउने छ । सरकारमा जान पनि आवश्यक तयारी गर्ने कुरा बैठकमा उठेको छ । तर यो भनेको पार्टी एकता बन्द भएको होइन । सरकारमा पनि जाने पार्टी एकता पनि बढाउने कुरा हो ।’