April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

अमरेशकुमारलाई कारवाही गर्न उनकै गृह जिल्लाका १२ नेताको देउवालाई पत्र

1.9K

काठमाडौं –  सांसद समेत रहेका नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहलाई उनकै गृह जिल्ला सर्लाहीका १२ जनप्रतिनिधि तथा नेताले कारबाही माग गर्न पार्टीसँग माग गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाई उनीहरूले विधानबमोजिम सिंहलाई कारबाही नगरे आफूहरूले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अमरेशले बुधबार पार्टी सभापति देउवा समक्ष राजीनामा बुझाएका थिए ।

कांग्रेसबाट प्रदेशका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता÷कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन् ।

Advertisement

पार्टीको विधि विधान अनुरुप कारबाही गरी वडादेखि क्षेत्रसम्मको निर्णयको इन्ट्री भएका क्रियाशील सदस्यता सदर गरिदिन माग गरिएको प्रदेश सभा सदस्य एवं प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बीरेन्द्र प्रसाद सिंहले जानकारी दिए । ‘पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न सिंहलाई पार्टी विधान बमोजिम कारबाही नभए हामी आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिन्छौं’ उनीहरुले पार्टी सभापतिलाई पठाएको पत्रमा लेखिएको छ ।