April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

एमालेको दुवै पक्षको बैठक बस्दै, वारपारको रणनीतिमा नेपाल पक्ष

1.4K

काठमाण्डु – नेकपा एमालेका दुवै समूह आज पनि आन्तरिक छलफलमा जुट्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षको छुट्टाछुट्टै बैठक बोलाइएको हो ।

नेपाल समूहले १२ बजेका लागि बैठक बोलाएको छ भने ओली पक्षको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबै नेताहरुलाई छलफलमा बोलाएको छ ।

आजको बैठकमा पार्टी फुटाएर जाने वा एमालेमा रहेर संघर्ष गर्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेपाल समूहका नेता मेटमणी चौधरीले सरकारमा जाने विषयमा समेत छलफल हुने जानकारी दिए । उनले केहीदिनभित्र नै आफुहरु सरकारमा सहभागी हुने स्पष्ट बताए ।

Advertisement

साथै संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठकले नेपाल समूहमाथि कारबाही गर्ने विषयमा छलफल गर्नेछ । सोमबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेपाल समूहलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेपनि हालसम्म स्पष्टिकरण पत्र पठाइएको छैन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले स्पष्टिकरण पत्र तयार भइरहेकाले सम्भवतः आजै पत्र पठाइने जानकारी दिए । नेपाल पक्षले भने स्पष्टिकरणको जवाफ नदिने बताइसकेको छ ।