November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जसपाको महन्थ समूहमा ‘पहिरो’ : उपेन्द्र यादवलाई बहुमत, वैठकमा १९ सांसद सहभागी

2.6K

काठमाडौं –  जनता समाजवादी पार्टी (जसपा) बाबुराम भट्टराई–उपेन्द्र यादव समूहले बोलाएको बैठकमा १९ सांसद सहभागी भएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका नेताहरु पनि बैठकमा सहभागी भएका एक सांसदले जानकारी दिए ।

यसअघि केपी शर्मा ओलीले राज्यमन्त्री बनाएकी रेणुका गुरुङ पनि बैठकमा सहभागी भएको उपेन्द्र यादवका सचिवलायका एक सदस्य मनिष चौरसियाले जानकारी दिए । १९ सांसदको सहभागितामा बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिन जनता समाजवादी पार्टी नेपालका १७ सांसद तयार भएका छन् । प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षका ७ सांसद तानेपछि उपेन्द्र यादव पक्षका १७ सांसद देउवालाई विश्वासको मत दिन तयार भएका हुन् । ठाकुरलाई छाडेका सातमध्ये दुई जना राष्ट्रियसभा सदस्य हुन् ।

Advertisement

शेरबहादुर देउवालाई मत दिने तयार भएर ठाकुर पक्षका ५ जना प्रतिनिधिसभा सदस्य आएका छन् । यादव पक्षको दलको बैठकमा हस्ताक्षर गर्नेमा मृगेन्द्रकुमार सिंह र प्रमिला यादव राष्ट्रिय सभा सदस्य हुन्। उनीहरुले मतदान गर्न पाउँदैनन् ।

जसपा सांसद प्रदीप यादवका अनुसार पार्टी कार्यालय बालकुमारीमा जेष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभाका दुईसहित १९ सांसद उपस्थित भएका हुन् । ठाकुर समूहका सात सांसद पनि आएपछि जसपामा एक महिनाबीचमै दृष्य फेरिएको छ ।

एक महिना अघिसम्म जसपा ठाकुर पक्षसँग २० सांसद थिए । तर एक महिनाबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै ठाकुर पक्ष छाडेर सांसदहरु यादव पक्षमा आएका हुन् । यसरी आफ्नो पक्षमा आएका सांसदहरुलाई यादवले मन्त्री बनाउने पनि तयारी गरेका छन् ।