काठमाडौं – नेपाल वायुसेवा निगममा कर्मचारीहरूले लगाएको तालाबन्दी प्रहरीले खोलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई तालाबन्दी खुलाउने पत्राचार गरेपछि प्रहरीले तालाबन्दी खोलेको हो ।
नेपाल वायुसेवा निगमलाई कम्पनीमा लैजान खोजिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलरत कर्मचारीले महाप्रबन्धक तथा निर्देशकहरूको कार्यकक्षमा तालाबन्दी गर्दै आएका छन् ।
निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले तालाबन्दी गरेका हुन् । निगमको सञ्चालक समितिले निगमलाई कम्पनीमा रूपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको भन्दै कर्मचारीहरू त्यसको विरोधमा उत्रिएका छन् ।
