July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध जगन्नाथ गाउँपालिकाको विद्रोह

230

काठमाडौं- बाजुराको जगन्नाथ गाउँपालिकाले उक्त क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले छुट्याएको बजेट अस्वीकार गर्ने निर्णय गरेको छ। गाउँपालिकाको नवौं गाउँसभाले नीतिगत निर्णय गर्दै बजेट अस्वीकार गरेको अध्यक्ष कालीबहादुर  शाहीले जानकारी दिएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले २०७८ असार १ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा जगन्नाथ गाउँपालिकाका दुईटा योजनामा बजेट विनियोजन गरेको थियो। अपर्याप्त बजेट पठाएको भन्दै प्रदेश अर्थमन्त्री प्रकाशबहादुर शाहलाई सम्बोधन गर्दै उक्त बजेट फिर्ता पठाइने शाहीले जानकारी दिए।

गाउँपालिकामा पर्ने कोल्टी, डुडिखुच्चा, दैंया हुँदै ढाडाकोट प्रदेशको पञ्चवर्षीय योजना रहेको थियो। उक्त सकडका लागि गएका वर्षहरुमा प्रदेश सरकारले ट्रयाक खोल्नका लागि  ५० लाख र त्यसपछि रु २० लाख विनियोजन गरेको थियो।  

उक्त बजेटबाट ट्रयाक खोल्ने काम भएको र सडकमा ग्याविन, ड्रेन निर्माण र सडकको स्तरोउन्नति गर्नका लागि १ करोड ५० लाख आवश्यक पर्ने गाउँपालिकाले प्रदेश सरकारलाई जानकारी गराएको थियो। तर, प्रदेशले उक्त सडकका लागि जम्मा १ लाख मात्र विनियोजन गरेको अध्यक्ष शाहीले बताए। 

यसैगरी, कर्णाली करिडोर अन्तर्गत बेर्मा, मनिकाँडा हुँदै बडिमालिका जोड्ने पर्यटकीय सडकका लागि बिगत वर्षहरुमा जगन्नाथ गाउँपालिकाले ७६ लाख, संघीय सरकार विशेष अनुदान २ करोड र प्रदेश सरकारबाट ५० लाख विनियोजन भएको थियो। 

जसले गर्दा मनिकाँडासम्म ट्रयाक खोल्ने काम भएको र उक्त सडकलाई वहुवर्षीय योजनाको रुपमा अगाडि बढाइएको छ। उक्त ट्र्याक त्रिवेणीसम्म ट्रयाक खोल्नका लागि १० करोड लागत अनुमान गरिएको छ। 

तर, उक्त योजनामा पनि प्रदेश सरकारले यसपल्ट १ लाख मात्र रकम विनियोजन गरेको छ। प्रदेश सरकारले गाउँपालिकाप्रति गरेको व्यवहार प्रति खेद प्रकट गर्दै बजेट फिर्ता गर्ने निर्णय गरेको उनले बताए। 

यसअघि बाजुराकै बडिमालिका नगरपालिका ३ रजालीका स्थानीयले पनि आर्थिक मामिलामन्त्री शाहलाई बजेट फिर्ता पठाउने घोषणा गरेका थिए। उक्त वडालाई सडक सञ्जालमा जोड्न तत्कालिन जिल्ला विकास समितिले सुरु गरेको मेलकाँध, रजाली  हुँदै गौमुल गाउँपालिकाको अम्लिस जोड्ने सडकका लागि अपर्याप्त बजेट विनियोजन गरिएको भन्दै फिर्ता गर्ने घोषणा गरेका थिए। 

सुरुमा जडिबुटी पहुँच मार्ग  बनाउनका  लागि एक करोड विनियोजन भएकोमा  गत आर्थिक वर्षमा  १० लाख रुपैयाँ विनियोजन भएको थियो भने यसवर्ष ५ लाख रुपैयाँमा झारिएको छ। 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह बाजुरा जिल्लाकै हुन्। जिल्लाबासी नै अर्थिक मामिला मन्त्री भएका बेला महत्वपूर्ण योजनालाई नजरअन्दाज गरिएकाले  उनीमाथि पनि खेद प्रकट गर्ने निर्णयसमेत  भएको जगन्नाथ गाउँपालिका अध्यक्ष शाहीले बताए। 

नेकपा एमालेमा भएको राजनीतिक अन्तरसंघर्षमा यी विकास योजनाहरु परेका हुन्। आर्थिक मामिलामन्त्री शाह एमालेको नेपाल पक्षका हुन् भने गाउँपालिका अध्यक्ष शाही ओली पक्षमा छन्। रजालीका स्थानीय वासिन्दा रहेका नेकपा एमाले जिल्ला कमिटी सदस्य अमर खड्का पनि ओली पक्षमा छन्।