काठमाडौं- गत जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि ५ दलले केही घण्टापछि नै त्यसलाई असंवैधानिक कदम भनेर विरोध गरे। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले त्यसअघि नै विपक्षी गठबन्धनका रूपमा संयुक्त सहकार्य र संघर्ष गर्ने निर्णय गरे पनि त्यसयताका एक महिना संयुक्त बैठक र ओली सरकारविरुद्ध औपचारिक विज्ञप्तिमा आफूलाई सीमित राखेका थिए।
बिहीबार विपक्षी गठबन्धनले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गरेर अब ‘संविधान, लोकतन्त्र र मुलुकको रक्षाका लागि’ संघर्ष गर्नुपर्ने बेला भएको निर्क्योल सुनाएको छ। र, अब ‘नवीन संघर्षमा अघि बढ्ने’ घोषणा गरेको छ। त्यो संघर्षको खाका भने सार्वजनिक गरिसकेको छैन।
प्रतिनिधि सभा विघटन गर्ने र बहुमत प्रतिनिधि सभा सदस्यहरुको समर्थनप्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको कदमलाई कानुनी चुनौती दिएको विपक्षी गठबन्धन अब त्यतिमै सीमित नरहने निर्क्योलमा पुगेको हो। बिहीबार सम्पादकहरुसँगको अन्तर्क्रियामा गठबन्धनका शीर्ष नेताहरुले ‘जुनसुकै तहमा पुगेर’ भए पनि संघर्ष गर्ने बताएका छन्। बिहीबारको अन्तर्क्रियामार्फत् विपक्षी गठबन्धनले मुख्यतः पाँचवटा सन्देश दिएको छ।
१. ‘गठबन्धन अस्थायी होइन, निकै परसम्म जान्छ’
अन्तर्क्रियामा पाँच दलीय विपक्षी गठबन्धनको आयुबारे प्रश्न उठे। त्यसलाई सम्बोधन गर्दै माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो निकै लामो बहस र छलफलपछि बनेको गठबन्धन भएको, यसका पछाडि सैद्धान्तिक र राजनीतिक आधारसँगै भावना र संवेदनाका आधारसमेत जोडिएको उल्लेख गरे। संविधानको रक्षा र संविधानलाई समयानुकुल परिमार्जन गर्दै लैजाने, लोकतन्त्रका आधारभूत मूल्य मान्यताको रक्षा गर्ने तथा राष्ट्रियताको रक्षा गर्ने गठबन्धनका सैद्धान्तिक र राजनीतिक आधार भएको उनले बताए।
‘यो संविधान, लोकतन्त्र र राष्ट्र जोगाउने संघर्षका लागि बनेको गठबन्धन हो’, प्रचण्डले भने, ‘यसमा सहमत भएर हामीले गठबन्धन निर्माण गरेक हौं। यो प्रधानमन्त्री हटाउने वा बनाउने गठबन्धन नभएकाले निकै परसम्म जानेगरी बनेको हो। तपाईं यो गठबन्धनलाई ढुक्कले विश्वास गर्न सक्नुहुन्छ।’
प्रचण्डले अहिलेको संविधान रक्षाको कुरामात्र यसमा जोडिएको नभई हिजोदेखिका परिवर्तनलाई हाँकेका शक्तिहरु नै सामेल भएकाले यसको ऐतिहासिक आधारसमेत रहेको दाबी गरे। जसपाका अध्यक्ष उपेन्द्र यादवले भने, ‘लोकतन्त्र रक्षाका लागि हामी मिलेर अगाडि बढेका छौं।’
२. ‘संघर्षको आधार तयार छ, जनता आन्दोलित भइसके’
मुलुकको राजधानी काठमाडौं उपत्यकालगायत देशभरका धेरै जिल्लामा केही खुकुलो बने पनि निषेधाज्ञा जारी छ। भयावह बनेको कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न गरिएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवा र गतिविधि ठप्प छन्। तर, विपक्षी गठबन्धनले ‘सशक्त संघर्ष गर्ने’ भनेर सडक आन्दोलन र प्रदर्शनमा जाने संकेत गरिसकेको छ। यस्तो निर्णयमार्फत् एकातिर विपक्षी दलहरुले महामारीको भयावह अवस्थालाई नजरअन्दाज गरेको, अर्कोतर्फ नागरिकको प्राथमिकता आन्दोलन नभएको टिप्पणी भइरहेको छ।
तर, बिहीबार विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आन्दोलनको आधार तयार भइसकेको दाबी गरे। कांग्रेस सभापति देउवाले सम्पादकहरुसँगको छलफलमा भने, ‘हामी राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवं प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच दलको संयुक्त मोर्चाका साथ अग्रसर भएका छौं। आवश्यक परेमा हामी जनपरिचालनको दिशातर्फ समेत अगाडि बढ्नेछौं।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त आन्दोलनको आधार नै तयार भइसकेको दाबी गरे। ‘जनतामा फ्रस्ट्रेसन निकै ठूलो छ, इनफ इज इनफ भन्ने कुराले सीमा नाघिसकेको छ’, प्रचण्डले भने, ‘अहिले कोभिड महामारी यसरी नबढेको भए लाखौं जनता स्वत:स्फूर्त सडकमा आइसक्ने थिए।’
३. ‘ओली र हामी उस्तै होइनौं’
सम्पादकहरुका प्रश्नको जवाफ दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीजस्तै भनेकोमा दुःखेसो पोखे। उनले आफूहरु संविधान, लोकतन्त्र र मुलुक जोगाउन लागिपरेको उल्लेख गर्दै ओलीले यी सबैलाई सिध्याउन खोजेको दाबी गरे।
‘केपी ओलीले बयलगाडाको सिद्धान्त विकास गर्दै गर्दा गणतन्त्रको झण्डा उठाउने माधव नेपाललाई उस्तै भन्न मिल्छ? एक मिनेट नसोचेर सजिलै प्रधानमन्त्री छाडिदिने प्रचण्ड र प्रधानमन्त्रीको कुर्सीमा बसिरहन देश नै बर्बाद पार्ने केपी ओली उस्तै हो?’, उनले भने, ‘हामी उस्तै होइनौं, हामीलाई उस्तै हुन् नभनिदिनुस्। हामी सेटिङ गरेर शासन गर्नेवाला होइनौं, सेटिङ भत्काउनेहरु हौं।’
४. ‘जस्तोसुकै अवस्था सामना गर्न तयार, जुनसुकै हदमा जान तयार’
बिहीबारको अन्तर्क्रियामा छोटो मन्तव्य दिनेक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘हामी कोर्स करेक्सनका निम्ति लागिपरेका छौं, केपी ओलीले मुलुकलाई राइटिस्ट (दक्षिणपन्थी) कोर्समा लैजाँदैछन्।’
त्यसक्रममा उनले आफूहरु सबै लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गरे र छेउमै रहेका कांग्रेस सभापति शेरबहादुर देउवातर्फ हेरेर भने, ‘मान्छेबाट गल्ती हुन्छ, यदि केपी ओलीले पनि गल्ती महशुस गरेर करेक्सन गरेर आए, राजीनामा गरेर ठाउँ छाडिदिएर आए र म पनि वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन्छु भनेर आए भने चाहिँ उनलाई पनि ठाउँ दिनुपर्छ है शेरबहादुरजी!’
तर, देशमा परिवर्तनका लागि लडेका वाम तथा लोकतान्त्रिक शक्तिहरुलाई बाइपास गरेर लोकतन्त्रविरोधी र राष्ट्रिय हितविरोधी शक्तिहरुसँग साँठगाँठ र चलखेल गर्ने, मुलुकलाई पछाडि लैजाने सोचेको हो भने त्यो सम्भव नहुने उनको भनाइ थियो।
तर, विपक्षी गठबन्धनका अरु नेताहरुले भने अब कित्ताकाट गरेर संघर्षमा अघि बढ्नुपर्ने बेला आइसकेको बताएका छन्। ‘यो सत्य र असत्यको संघर्ष हो, राष्ट्रहित र राष्ट्रघातमा लाग्नेको संघर्ष हो, यो लोकतन्त्र र निरंकुशतन्त्रबीचको संघर्ष हो, यसमा नेपाली जनताले जित्नैपर्छ’, प्रचण्डले भने, ‘हामीले जुनसुकै हद र तहमा गएर पनि संविधान, लोकतन्त्र र राष्ट्र बचाउनुपर्नेछ।’
प्रचण्डले जस्तोसुकै अवस्था आए पनि सामना गर्छौं भन्नेमा भावनात्मक रुपमै प्रतिबद्ध भएर पाँचजना पूर्वप्रधानमन्त्रीले संयुक्त वक्तव्य निकालेको र त्यहीअनुसार पाँचदलीय विपक्षी गठबन्धन बनेको बताए।
५. ‘हाम्रा विषयमा अनावश्यक चलखेल नगर’
कांग्रेस सभापति देउवाले सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लिखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहेको बताए। उनले भने, ‘नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछौं।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने यसमा प्रष्ट सन्देश नै प्रवाह गरे। ‘हामीले कोहीसँग पनि दुश्मनी गर्न खोजेका छैनौं, हाम्रा छिमेकी र सबै मित्रराष्ट्रसँग हामी राम्रो सम्बन्ध हुनुपर्छ भन्ने पक्षमा छौं, त्यही चाहन्छौं’, प्रचण्डले भने, ‘तर, हामीलाई हामीभित्रै हुने अनावश्यक चलखेल सह्य र स्वीकार्य छैन।’