July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

पछिल्लो २४ घण्टामा थपिए ४५२२ कोरोना संक्रमित, ४१ जनाको मृत्यु

330

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका ४५२२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२,२०४ पिसीआर र ४७०९ ऐन्टिजेन गरी १६,९१३ नमुना परीक्षणमा ४,५२२ जना संक्रमित थपिएका हुन् ।

सोमबारको तुलनामा आज संक्रमितको संख्या दोब्बर बढेको देखिएपनि धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षण एकमुष्ट रुपमा प्राप्त भएकोले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज भक्तपुरमा ६७, ललितपुरमा ९९ र काठमाडौंमा ३१० गरी उपत्यकामा ४७६ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा संक्रमित हुनेको यो संख्या सोमबारको तुलनामा केही बढी हो ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी जम्मा ३४ लाख ३९ हजार ६४५ नमुना परीक्षण गरिएकोमा ६ लाख ५४ हजार ४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ४,९५४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४,९५४ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९०.२ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,८१३ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५२ हजार ६४८ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४९,४२५ र संस्थागत आइसोलेशनमा ३२२३ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७६१ र भेन्टिलेटरमा २१८ जनाको उपचार भइरहेको छ । सोमबारको तुलनामा आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा कमी आएको छ ।