July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिष्कार

425

रुपन्देही – विपक्षी गठबन्धनले आज (आइतबार) लुम्बिनी प्रदेश सभाको वैठक बहिष्कार गरेको छ । अल्पमतको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिष्कार गरेका हुन् ।

असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक शुरु हुनासाथ विपक्षी दल नेपाली कांग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए । त्यसपछि कांग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिंडेका थिए । आय–व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेस हुने कार्यसूची रहेको थियो ।
विपक्षी गठबन्धनको प्रश्न : सरकार वैध कि अवैध ?
विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकार वैध कि अवैध भनेर पहिलो छुट्याइनुपर्ने माग गरेको छ । त्यसपछि मात्रै प्रदेश सरकारले ल्याएको बजेट पास गर्नतिर सोच्न सकिने विपक्षी गठबन्धनको अडान छ ।

आइतबार प्रदेशसभामा विशेष समय माग गरेर बोल्दै काँग्रेस सांसद वीरेन्द्र कनौडियाले पहिला सरकार वैध हो कि अवैध हो भन्ने छिनोफानो हुनुपर्ने बताए । उनले भने , ‘सरकार वैद्य कि अवैध पहिला छुट्याउनु पर्छ ।’

विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भए पनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् । विपक्षीको दावी अनुसार मुख्यमन्त्रीसँग प्रदेशसभामा विश्वासको मत छैन ।