June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

ज्यान मुद्दामा फरार चार आरोपी भरुवा बन्दुकसहित पक्राउ

195

काठमाडौं-  मोरङ प्रहरीले भरुवा बन्दुकसिहत चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू ज्यान सम्बन्धी कसूरमा फरार रहेका व्यक्ति रहेको मोरङ प्रहरीले जनाएको छ।

केराबारी गाउँपालिका-३ बस्ने ४४ वर्षीय डिकबहादर राई, ३६ वर्षीय बुद्धबिर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका-१ बस्ने १९ वर्षीय विपन लिम्बु पक्राउ गरेका हुन्। उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाकाे बयानपछि केराबारी गाउँपालिका-३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले छोपी लुकाई राखेको भरुवा बन्दुक २ थान, ढुङ्गामाथि पातहरुले छोपी लुकाई राखेको भरुवा बन्दुक १ थान र लेटाङ नगरपालिका-१ स्थित जंगलको ओडारमा लुकाई राखेको भरुवा बन्दुक १ थान बरामद भएको प्रहरीले जनाएको छ।

गत वैशाख ८ गते साँझ बाँसघारी खोप सरकारी वनमा शिकार गर्न गएका हस्तबहादुर राईको दाहिने कुममा गोली लागि मृत अवस्थामा फेला परेका थिए। साेही घटनामा रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा थप चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताएका छन्। 

पक्राउ परेकाहरूमाथि ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।