June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन

330

काठमाडाैं– कैलालीका पुराना राजनीतिज्ञका रूपमा चिनिएका सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ।

लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए।

चार दशकभन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए। मल्ल विसं‍ २०३७–२०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका थिए।

२१ वर्षको उमेरबाटै राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटानअन्तर्गत पण्डौन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्वविद्यालयको सभासद् भएका थिए। 

पञ्चायत र पछिका दिनमा राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेस प्रवेश गरेका थिए। मल्लका १ छोरा र १ छोरी छन।