April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

चुनावी सरकारमा आएर हैसियत अनुसार मन्त्रालय लिन ओलीको प्रस्ताव

2.7K

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।
आज (आइतबार) पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले भने, ‘सात मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

‘चार मान्छेको ‘अगस्त्य’ महत्वकांक्षाले देश बिग्रदैछ’
प्रधानमन्त्री ओलीले चार जना ७० कटेका मान्छेको महत्वकांक्षाले देश बिग्रदै गएको बताएका छन् । ओलीले पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सभापति बनेका, १५ वर्ष पार्टी नेतृत्व गरेका मान्छे नै अहिले लडाइँ लडिरहेको भन्दै उनीहरुको अतृप्त भोकलाई कहिल्यै चित्त बुझाउन नसकिने भन्दै अगस्त्य शैली भएको बताएका हुन् ।

‘कुनै भ्रममा नपर्नुहोस् । अहिले अस्वस्थता मच्चाउने को छन् ? चार पल्ट प्रधानमन्त्री भएका, पार्टी सभापति भइसकेका, ७० भन्दा माथि उमेर कटिसकेका, अब लिनु र दिनु केही नभएका मान्छे अस्तव्यस्तता मच्चाइरहेका छन् । युवाको भविष्य र बालबालिकाको भविष्य होइन। आफ्नो अहम् र आफ्नो इगोको चिन्ताका लागि लडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘१५–१५ वर्ष पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका भएका मान्छे । फेरि आफ्नो अहंकार र आफ्नो इगोको लागि अहिलेको लडाइँ लडिरहेका छन्। यो अस्तव्यस्तता तिनै चारजना मान्छेको स्वार्थ, अतिप्त भोक, कहिल्यै चित्त नबुझाउने, कहिल्यै पेट नभरीने, कहिल्यै तिर्खा नभेटिने अगस्त्य महत्वकांक्षा छ । त्यस महत्वकांक्षाले देश बिग्रदैछ ।’

Advertisement

ओलीले आफूविरुद्ध सक्रिय चार नेतालाई अगस्ति ऋषिको संज्ञा दिएका हुन् । पुराणमा वर्णित कथा अनुसार अगस्ति भनेका समुन्द्रको सम्पूर्ण जल पान गर्ने एक ऋषि हुन् । अगस्ति ऋषि मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको वीर्य कुम्भमा पर्दा जन्मेको मानिन्छ ।

ओलीले पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईतर्फ लक्षित गर्दै अगस्तिको संज्ञा दिएका हुन् । ओलीले युवा पुस्तालाई सत्ताको पाइसकेकाको स्वार्थका पछाडि नलाग्न आग्रह गर्दै देश र जनताप्रति इमान्दार बन्न आग्रह गरे । ओलीले देशलाई बर्बाद नगर्न युवा पुस्तालाई अनुरोध समेत गरेका छन् ।