March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

नेपालमा ताउ-ते आँधीको प्रभाव: केही स्थानमा भारी वर्षा र हिमपात हुने शतर्कता अपनाउन आग्रह

5.2K

काठमाडौं– मध्यपूर्वी अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ निरन्तर कमजोर हुने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। 

यद्यपि उक्त चक्रवातको असर भने नेपालमा पनि पर्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो पटक भारतको गुजरातमा बज्रिएयता मंगलबार राति डीप डिप्रेसन बनेको र उक्त डीप डिप्रेसन बुधबार बिहानसम्म अझै कमजोर भइ डिप्रेसनमा परिवर्तित भएको छ।

अहिले उक्त आँधी उत्तर–उत्तरपूर्व हुँदै भारतको राजस्थान र उत्तर प्रदेशको पश्चिम–उत्तर क्षेत्रतिर बढ्ने क्रममा रहेको छ। 

Advertisement

विभागले सो प्रणाली बुधबारबाट नेपालमा थप सक्रिय भएको जनाएको छ। ताउ–तेको प्रभावस्वरुप देशका धेरै स्थानरुहमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ। बुधबारदेखि शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ। 

बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा  र बिहीबार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भाना रहेको समेत जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

यस्तै, प्रदेश नम्बर १, प्रदेश नम्ब २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका हुनुका साथै १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ। 

यो समयमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

साथै बुधबार दिउँसोबाट उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमापात र वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ। विभागका अनुसार कर्णाली र सुदूरपश्चिमका केही तथा अन्य प्रदेशका १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

यो प्रणालीका कारण खोलानालाहरुमा जलप्रवाह बढ्ने, यातायात क्षेत्र समेत प्रभावित हुने सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ। विभागले यो समयमा पर्वतारोहण नगर्न र नगराउन पनि अनुरोध गरेको छ।