May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

कर्णालीका मुख्यमन्त्रीले शाहीले संसदमा विश्वासको मत लिने

520

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहीले मंगलबार विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता गराएका छन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने पत्र प्रदेशसभामा दर्ता भएको पुष्टि गरे ।

सभामुखसहित बस्ने कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले विश्वासको मत लिने मिति निर्धारण गर्नेछ । कर्णाली प्रदेशसभाको बैठक वैशाख ३ गते दिँउसो २ बजेका लागि बोलाइएको छ ।

गत चैत ५ गते नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । मुख्यमन्त्री शाहीको नेतृत्वको सरकारमा रहेका एमालेका तीन मन्त्रीले गत चैत २४ गते राजीनामा बुझाएका थिए ।

कर्णालीमा नयाँ सरकार गठनका लागि नेकपा एमाले एक्लैको बहुमत पुग्छ । तर, मुख्यमन्त्री शाहीसँग कांग्रेस मिल्दा पनि बहुमत पुग्दैन ।

नेकपा एमालेले मुख्यमन्त्री शाहीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिसकेको छ । उनले राजीनामा दिने वा विश्वासको मत लिने विकल्प थियो । उनले संसदमा विश्वासको मत लिने विकल्प रोजेका हुन् । नेकपा एमालेले भने कर्णालीमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको छ ।

उनीसँग माअ‍ोवादी केन्द्रका १२ जना सांसद मात्रै रहेका छन् । सरकार टिकाउनका लागि मुख्यमन्त्री शाहीलाई २० जना सांसदको आवश्यकता पर्दछ ।

४० सिट रहेको कर्णाली प्रदेशमा एमालेको एक्लै २० सिट रहेको छ । त्यस्तै नेपाली कांग्रेसको ६ सिट र राप्रपाको एक सिट छ । सभामुख एमालेबाट छन् । उनको संख्या घट्दा एमालेको कर्णालीमा १९ सिट हुन्छ ।