April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

सातै प्रदेशमा स्थापना गरियो प्रदेश निर्वाचन कार्यालय

135

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले बुधबार सातवटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका छन्। भर्चुअल माध्यमबाट उनले प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

मन्त्रिपरिषद्को गएको माघ २६ गतेको निर्णयानुसार आयोग अन्तर्गत सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत भएको थियो।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैंले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकता अनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था रहेको प्रवक्ता श्रेष्ठले बताएका छन्।

सोही व्यवस्था बमोजिम आयोगले गरेको सिफारिसका आधारमा हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज भइ आयोगको प्रादेशिक कार्यालय स्थापना गरिएको छ।

उपसचिवको नेतृत्वमा नौ जना कर्मचारी रहनेगरी प्रदेश निर्वाचन कार्यालयको स्थापना गरिएको श्रेष्ठले बताएका छन्। कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई नेपालको संविधानबमोजिम संघीय ढाँचा अनुकूल तुल्याउन र आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको बताए।

यसरी स्थापित कार्यालयहरूबाट आगामी दिनमा निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवं मतदाता जागरणलगायत आयोगलाई तोकिएका कार्यसम्पादनमा थप सहजता हुने र जिल्ला निर्वान कार्यालयहरूको काम कामकारबाहीमा प्रभावकारी समन्वय हुने उनले विश्वास व्यक्त गरे।