November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुरक्षा व्यवस्था चुस्त बनाउन प्रद्श प्रहरी प्रमुखहरुलाई गृहसचिवको निर्देशन

2.9K

काठमाडौं- गृहसचिव महेश्वर न्यौपानेले ७ वटै प्रदेश प्रमुखलाई शान्ति सुरक्षा चुस्त बनाउन निर्देशन दिएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय कमान्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्दै उनले भिडियो कन्फ्रेन्समार्फत् उक्त निर्देशन दिएका हुन्।

गृहसचिव न्यौपानेले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न तथा आ-आफ्नो क्षेत्रबाट तस्कारी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउन निर्देशन दिए। 

निरीक्षण पश्चात् गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी कर्मचारीहरुले आफ्नो आचरण एवम् अनुशासनप्रति संवेदनशील भई पूर्ण इमान्दारिताका साथ आफ्नो प्रतिबद्धतामा नडगमगाई जिम्मेवारी बहन गर्न निर्देशन दिए। 

Advertisement

गृहसचिव न्यौपानेले नेपाल प्रहरी संगठनको सुदृढीकरण र शुद्धीकरणमा गृह मन्त्रालय सदैव दृढ रहेको चर्चा गर्दै प्रहरीका कार्यालयहरूको गतिविधि अनुगमन तथा कारबाही प्रक्रिया बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे। 

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको गृह प्रशासन सुधार योजना कार्यान्वयनको साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धिलगायतका कार्य योजनामा प्रहरी संगठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्ने बताए।