काठमाडौं । परराष्ट्र मन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ महाधिवेशन विधानअनुसार गर्न सुझाएका छन् ।
एनआरएनए अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठको नेत्तृत्वमा मन्त्रालय गएको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा परराष्ट्रमन्त्री शर्माले एनआरएनएको आगामी १२ औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।
“नेपालमा भौतिक रूपमा गर्दा धेरै सकारात्मक पक्ष छन्, त्यसैले नेपालमै गर्नुहोस् भन्ने मेरो चाहना हो,” मन्त्री शर्माले भने, “तर हामीले मान्नुपर्ने नियम-कानुन हुन् यसर्थ तपाईंहरूको विधानले जे भन्छ, त्यहीअनुसार गर्नु राम्रो हुन्छ, किनकि नेपाल आउन नसक्ने सदस्यहरूलाई पनि मतदानबाट वन्चित गर्न मिल्दैन l”
संघको २००३ (२०२२) को संशोधित विधानको धारा १४ मा महाधिवेशन तथा साधारण सभा अनलाइन अथवा भौतिकरुपमा उपस्थित भई गर्न सकिने, भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत साधारण सभामा भाग लिन र निर्वाचनमा मतदानको व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ ।
यसैबीच एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठन गर्न अनुरोध गरेको छ। एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ ।