काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । लामो समयदेखि यसबारे आवाज उठाइदै आइरहेको एनआरएनएले विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेकोमा धन्यवाद दिएका हुन् ।
विधेयक पारित भएपछि एनआरएनए अध्यक्ष कुल आचार्यले खुशी व्यक्त हुंदै आफ्नो र संस्थाको बर्षौदेखिको माग पुरा गरिदिएकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् । ‘हाम्रो लामो मेहनत र अनवरत प्रयासपछि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट संसदले दुई/दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक अनुमोदन गरिदिनु भएकोमा साह्रै खुशी लागेको छ । नेपालको संविधान जारी भएको झन्डै आठ वर्ष पछि अब गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको छ । यसका लागि सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डज्यू, नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमंत्री आदरणीय शेरबहादुर देउवाज्यू, नेपाल सरकार, सबै राजनीतिक दलहरू, माननीय सांसदज्यूहरुसहित सम्बन्धित सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।’, अध्यक्ष आचर्यले सामाजिक संजालमा लेखेका छन् ।
नेपालमा भने विधेयकबारे दुई किसिमकै अभिव्यक्ति आइरहेका छन् । एक पक्षले यसलाई स्वीकारयोग्य र राष्ट्रपतिबाट राम्रो काम भएको भनी प्रशंसा भइरहेको छ भने अर्का प्रतिपक्षी दल नेकपा एमालेले भने यसको विरोध गरिरहेको छ । जसको विरोधस्वरुप बुधबार एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले नुवाकोटमा मसाल जुलुस निकालेको थियो ।
बुधबार साँझ विदुर नगरपालिका–४ पुरानोबजारबाट निकालिएको उक्त जुलुस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेटमा पुगी कोणसभामा परिणत भएको हो ।
अघिल्लो दुवै संसदले दुई पटकसम्म पारित गरेको तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको विधेयकलाई राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयक दुवै सदनले पारित गरी पहिलोपटक ०७९ साउन १६ मा र दोस्रोपटक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालिन राष्ट्रपतिले थन्क्याइदिएकी थिइन् । सोही त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् ।
पुरानै विधेयकलाई नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गराउन चाहेको सत्ता गठबन्धन सरकारको चाहनास्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले तीन साताअघि राष्ट्रपति पौडेललाई भेटेर पहिलेकै विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए ।
सत्तारुढ गठबन्धनको बैठकले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले संसदमा विरोध जनाएका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टाअघि राष्ट्रपति पौडेलले सो नागरिकता विधेकय प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएपछि गैरआवासीय नेपालीहरूले खुशी भएका छन् । बर्षौदेखि एनआरएनएले माग गर्दै आएको र अहिले पुरा भएको भन्दै विश्वभर रहेका एनआरएनएहरु खुशी भएका हुन् ।