काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ एनआरएनको हितमा रहेकाे बताएका छन् ।
पाँच दिने भ्रमणाका लागि जापान पुगेका अध्यक्ष प्रचण्डले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका हुन् ।
नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण जापानले पेस गरेको उनको भनाइ थियो ।
प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरूको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए ।
सत्ता गठबन्धनले पनि स्थायित्व र विकास निर्माणलाई केन्द्रमा राखेर योजना निर्माण गर्ने गरेको प्रचण्डको दाबी थियो ।