आकाश शेर्पा
‘घरबाट बिदा मागेर केही बर्षको लागि जान्छु, छिट्टै साहुको ऋण तिरेर आउछु है आमा !’ भनेर हिँडेको पनि दशक कटिसकेछ । समयको वेगसँगै जिन्दगीलाई दौडाउँदै लाँदाखेरी कहाँबाट कहाँ ल्याईपुर्यायो, फर्केर हेर्दा अनगिन्ती मोडहरु देखिए । अझै कति यसैगरी आफ्नो परिवार, आफन्त, इष्टमित्र, साथीभाइ अनि खेली हुर्केको गाउँठाउँलाई ढाँट्दै परको देशमा बस्नुपर्ने थाहा छैन ।
आमाको मन न हो, ‘बर्षमा एकपल्ट त आउनु नि घर ! अनि फेरि जानू भन्ने न हो ।’ चिट्ठी पत्रको समयदेखि परदेश हिँड्न थालेको आज सञ्चार आधुनिक ईन्टरनेटको जमानामा आईपुग्दा पनि स्थायी रुपमा बस्ने गरि परदेशीएको छोरो नआउँदा बाबा खिन्नता प्रकट गर्छन् । छ/सात बर्षको उमेर हुँदा बिहानै पूर्णिामाको जूनको उज्यालोमा ओछ्यानमै छाडेर हिँडेका भाईहरु राष्ट्र सेवकमा भर्ती भैसके त कोहि कोरियाको लागि नाम निकाली सके तर पनि खै केले रोकिए फर्किने पाइलाहरु ? भन्दै गुनासो गर्छन् ती भाईहरु ।
मलाई पनि याद आउछ, अँगेना वरिपरि बसेर मिठो मसिनो आमाको हातले पस्केको खाना । कुनामा बसेर बाबाले सुनाएका किस्साहरु । हरेक बिहान मुलघरमा हजुरबुबा र हजुरआमाकोमा गएर दङ्गाएको पलहरु । आँगन तलतिर गोरेटोमा मिलेर खेल्दाखेल्दै बहिनीहरुसँग झगडा गर्दै छुट्टिने हाम्रो दैनिकीहरु । स्कुलबाट आउँदा सानकाकाको बारीमा काँक्रा चोरेर खाएको ती क्षणहरु अनि दशैं तिहारमा खेलेका पीङको । मावलाघर जानलाई हत्तारिएर घाँस काट्दा औंला काटी पठाएका । बिहानीसँगै गोठ अनि घरधन्दा गरेका पलहरु ।
केही समय अगाडिसम्म कोभिडको बहाना गरि बसिरहेका थियौं । अब त त्यसरी बहाना गर्ने बानी भैइसकेकोले होला बहानामाथि झन् बहाना आउने । ‘यसपाली जसरी आउछु’ भनेर वचन दिएको आमालाइ फेरि भन्नु परेको छ । ‘आमा बुहारीको भिसा समस्या भएको कारण घरेलु कामदारको भिसामा आएकोलाई फेरि श्रम नदिने भएकोले कम्पनीको लागि अझै ट्रान्सफर गर्न मिलेन’ भनें । अनि ‘नातिनी जन्मिएर हुर्किँदै छिन् हामी सँगै आउछौं नि भिसा मिलाएर ल आमा ! बाबा न आत्तिनु हामी नभएर के भो त भाईहरु नेपालमै छ । उनीहरुको समय बिदा मिलाएर आउछन नि !’ भन्दै बाबालाई पनि यसपाली यसैगरी सम्झाउन मात्र सकें ।
तयारी नगरेको हैन गरेकै थिएँ, वार्षिक बिदा पनि पाउने नै थियो । तर सबै कुराहरू भनेजसरी सहज कहाँ हुने रहेछ र ? आफ्नै देशमा भएको भए गाडी चडेर आउने थिएँ । विडम्बना परको देश मरुभूमिमा ठडिएको शहरबीच अग्ला–अग्ला ती भवनको भित्र कहिल्यै नभेटिने सपनाहरु खोज्दै सुनौला बिहानीको आशा जीवितै राखी । बिहानैको अलर्मसँगै आँखा मिच्दै हतारहतार नुवाईधुवाई गरि फ्रीज भित्र राखेको खानको पोका झोलामा राखी भर्खरै बामे सर्दै गरेकी छोरीलाई ओछ्यानमा छाडेर जानू पर्ने दैनिकीले नछाडे पछि ।
आउछु भनेर आमालाई दिएको वचन, यसपटक हिउँदमासँगै हुन्छु भनेर बाबालाई देखाएको आशा, सबैको छुट्टीसँगै मिलाउनु भनेर यसपटक सबै भाइ साथैमा गाउँमा हुनुपर्छ भनेर बनाएको योजना, बालापनको याद दिलाउन मावला जाने अनि सानैमा झगडा गर्ने दिदिबहिनीहरुसँग यो सालको पर्व मनाउने, सकेसम्म ल्होसारसम्म बस्नेगरी लामो बिदा मिलाउने है ! भनेर बनाएको योजनाहरु अनि सबैलाई दिएको बाचा यसपाली पनि पूरा भएन ।
ओखलढुंगा, हाल कुवेत