शारदा भुजेल
दोहा । कतारमा शुक्रबार हुने ‘दशैँ धमाका २०७९’ को सम्पूर्ण तयारी पुरा भएको छ । एसएसके ब्रदर्सको आयोजनामा हुन गइरहेको ‘दशैँ धमाका २०७९’ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।
नेपालीहरुको महान चाड विजया दशमीको शुभ अवसरमा दोहास्थित डि रिङरोडमा रहेको रेजेन्सी हलमा हुने कार्यक्रमको लागि आवस्यक सम्पूर्ण तयारीहरू पूरा र सम्पूर्ण कलाकारहरू कतार आईसकेको साथै हलको साजसज्जासमेत सकिएको कार्यक्रम संयोजक डेगबहादुर भारती उर्फ सुमनले जानकारी दिएका छन् ।
कलाकारहरु “बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई” गीतबाट चर्चाको शिखरमा रहेका बहुचर्चित भर्सटायल गायक सर्जक रमेश राज भट्टराई, ‘भेट्न आएँ दौडेर स्याईस्याई, आखिरमा भो हेर केही न केही’ गीतका गायक तथा मोडल अर्जुन सापकोटा र ‘छन त मै राम्री छैन, भन त मन पर्छ पर्दैन’ लगायत चर्चित गीतबाट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी लगायत अतिथि कलाकारहरू कतार आईसकेका छन् ।
त्यस्तै पछिल्लो समय चर्चाको शिखरमा रहेका मोडलद्वय प्रीति पासवान र करिश्मा पुन मगरसमेत अतिथि कलाकारका रुपमा आईसकेको भारतीले जानकारी दिए ।
कतारवासी नेपालीहरूको लागि महान चाड विजया दशमीलाई विशेष बनाउने र सामुहिक रूपमा दशैंको उत्सव मनाउने हेतुले आयोजित कार्यक्रम शुक्रबार दिनको ४ बजेदेखि रातको १० बजे सम्म चल्नेछ ।
कार्यक्रमको तयारी भव्य रूपमा भएको र सफलतासमेत भव्यरूपमा हुने साथै कतारका अग्रजहरू, बुद्धिजीवी,व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली एवं नेपालीभाषी दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन कार्यक्रमका मिडिया संयोजक दिपजङ्ग शाह ठकुरीले आग्रह गरेका छन् ।