स्कटल्याण्ड । गैर-आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले हालै काउडेनबिथमा गैर-आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्याउने विषयमा सक्दो पहल गर्ने बताए ।
उक्त कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले प्रवासीको नेपालमा लगानीको उचित वातावरणको लागि गैर-आवासीय नेपालीहरुको नागरिकता र सम्पत्तिको सुनिश्चितता गरिनुपर्ने तथा यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

यसैगरी राज्य परिषद्का संरक्षक भोला खनालले नेपालमा प्रवासी नेपालीहरूको लागि लगानीको धेरै सम्भावना र अवसर भएको र सम्भाव्यता खोजी गर्नुपर्ने बताए ।
स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्कटल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। राज्य परिषद्का उपाध्यक्ष्य उज्वल कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राज्य परिषद्का संस्थापक सचिव कृष्ण दाहालले गरेका थिए ।
