February 13, 2025, Thursday
२०८१ फाल्गुन १
1:37:26 pm

पुरस्कारका लागि पुस्तक पठाउन अनेसासको आह्वान

२०७९ फाल्गुन २४

2.2K

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विगतका वर्षहरुजस्तै यस वर्ष पनि संसारभर रहेका नेपाली लेखकहरूद्धारा लिखित साहित्यका विभिन्न १० विधाका पुस्तकहरुलाई पुरस्कृत गर्ने भएको छ । कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार प्रदान गरिने अनेसासले जनाएको छ ।

अनेसासले नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्ने गरेको छ । पुरस्कार राशि २ हजार अमेरिकी डलर रहेको छ ।

अनेसासका अनुसार पुरस्कारका लागि पुस्तकहरु दर्ता गर्न नेपाली भाषामा लेखिएको, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको, पुस्तक आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने छ भने पुस्तक सन् २०२१ जनवरी १ देखि सन् २०२२ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको हुनेपर्ने छ । पुस्तकहरु ४ प्रति मार्च ३१, २०२३ सम्ममा प्राप्त भइसक्नुपर्ने अनेसासले जनाएको छ ।

Advertisement

यस्तै, लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम भरेर पठाउनुपर्ने अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयले जानकारी दिए ।

पाण्डेयका अनुसार पुस्तकहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने र मूल्याङ्कनकर्ताहरूबाट प्राप्त भएको नतिजालाई जुलाईमा आयोजना हुने भानुजयन्तीका अवसरमा सार्वजनिक गरिने छ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा एक विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने पनि जनाइएको छ । अनेसासले मापदण्ड पूरा भएका कृतिहरू तोकिएको समयमा पठाउन सम्पूर्ण लेखकहरूलाई अनुरोध गरिएको छ । पुस्तकहरू पठाउन सहयोग गर्न सम्बन्धित च्याप्टर, आजीवन तथा ट्रष्टीहरूलाई अनुरोध गरेको छ ।

अनेसासाले पुस्तकहरू अनेसास नेपाल च्याप्टरको कार्यालयमा सन्ध्या पहाडी र संयुक्त राज्य अमेरिकामा तिर्थ पाण्डेलाई सम्पर्क गरी पठाउन सकिने जनाएको छ ।