August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

फिवनाको संस्थागत दिगो विकास कार्यक्रम अन्तर्गत बनभोज कार्यक्रम आयोजना हुने

500

न्युयोर्क । नेपालबाट अमेरिका आएका नेपाली आदिवासी जनजाति महिलाहरूको साझा संस्था आदिवासी महिला महासंघ अमेरिका (फिवना) ले बनभोजको कार्यक्रम आयोजना गर्न लागेको छ । फिउनाको संस्थागत दिगो विकास कार्यक्रम अन्तर्गत हरेक बर्ष गर्दै आएको बार्षिक कार्यक्रम भएपनि बिगत दुई बर्ष कोभिडका कारण रोकिएको थियो ।

सन् २०११ मा अमेरिकाको न्यूयोर्क राज्यमा विभिन्न आदिवासी जनजातिहरूको एक भेलाबाट स्थापना भएको उक्त संस्था गैर नाफामूलक संस्था अन्र्तगत ५०१ सि (३) मा दर्ता भएको एक गैर नाफामूलक संस्था हो ।

यस संस्थाले स्थापनाकालदेखि आफ्ना भाषा, संस्कार, नेपाली पहिचान, नेपालमा रहेका आदिवासी जनजातिहरूको पहिचान विश्वसामु स्थापना गर्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । विशेष गरि नेपालबाट आएका आप्रावासी महिलाहरूलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने र महिला अधिकारका सवालमा अन्तराष्ट्रिय स्तरका महिलाहरूसँग सहकार्य र हातोमालो गर्दै विश्वभर भएका लैंगिक विभेदको अन्त्य गर्दै समानतामूलक समाजको निमार्णमा महत्वपूर्ण टेवा दिने यस संस्थाको मुख्य उद्धेश्य रहेको छ ।

Advertisement

आप्रवासी नेपाली भाषी महिलाहरूको शसक्तिकरणका लागि फिवनाले विभिन्न अन्य संघसंस्थासँग सहकार्य पनि गर्दै आएको छ । यस बनभोज कार्यक्रममा सहभागीहरूबाट आएको योगदान यिनै कार्यक्रममा प्रयोग गरिने छ । कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्यहरूबाट विभन्न परिकारका खानेकुराहरू उपलब्ध हुनेछन् भने सोही अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुनेछ । यसबाट न्यूयोर्कमा रहेका विभिन्न संघसंस्थासँग आपसी सद्भावको विकास हुने, म मात्र एक्लो छु भन्ने सोच भएका कोहीलाई हामी सबै साथमा छौ भन्ने जस्ता सामिप्यताको विकास हुने आयोजकको भनाइ छ ।

यस संस्थाले आफ्ना समुहभित्रका सदस्यहरू लगायत नेपालमा पनि विभिन्न प्राकृतिक प्रकोपबाट विचलित भएकाहरूलाई विभिन्न समयहरूमा मानवीय सहयोग स्थापना कालदेखि नै गर्दै आएको छ । आगामी दिनमा यस्तै सेवाहरूको विस्तार गर्दै अघि बढ्ने प्रयासले आयोजना हुन लागेको यस कार्यक्रममा सहभागि भइदिन आयोजक संस्थाले सम्पूर्ण न्यूयोर्कबासीहरूमा अनुरोध समेत गरेको छ ।