January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

अनुभूतिः पोर्तुगलमा प्राज्ञिक वहस चलाउँदा

रुकमान केरुङ लिम्बू
२०८२ पुष १५

1.8K

जन्मभूमी नेपालबाट धेरै टाढा, उत्तर र पुर्वमा स्पेन त्यस्तै दक्षिण र पश्चिममा एट्लाण्टिक महासागरले सीमाङ्कन गरेको दक्षिणपश्चिम युरोपमा अवस्थित एक सार्वभौम देश पोर्तुगलमा एक सुनौलो भविश्यका निम्ति करिब एकदशकदेखि बसोवास गर्दै आएको छु ।

जीवन यापनका साध्यका रुपमा काम गरेर बचेको समयलाई समुदायका निम्ति केही गर्न सकिन्छ कि भनेर याक्थुङ संस्कारसंस्कृतिको संरक्षण प्रवद्र्धन तथा पुस्तान्तरणको अभियान सञ्चालन गर्न, आदिवासी जनजाति अधिकार र मानव अधिकारको विश्वव्यापी घोषणा पत्रलाई अंगिकार गरी याक्थुङ पहिचानको अन्तर्राष्ट्रियकरणमा सर्वपक्षीय योगदान पु¥याउनका किरात याक्थुङ चुम्लुङ गठन गरी पोर्तुगलमा रहेका याक्थुङहरूलाई एकजुट भई सामाजिक क्षेत्रमा काम गर्न सन् २०१४ मा केन्द्रविक्रम लिम्बूको अध्यक्षतामा विधिवत रुपमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, पोर्तुगलसँग जोडिने मौका पाएँ । संस्थामा सदस्य हुँदै महासचिव र हाल अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै गर्दा एउटा प्राज्ञिक बहस चलाउन सकिन्छ कि भनेर धेरै जनासँग सरसल्लाह भयो । सबैजनाबाट सकारात्मक प्रतिक्रिया आएकोले आउनै लागेको सिसेक्पा तङनाम ५०८५ मा गर्ने अठोट गरियो । यस कार्यका लागि सबैभन्दा धेरै किशोर सुब्बा लिम्बू दाईसँग छलफल गरेँ । उहाँ लिस्वन युनिभर्सिटीमा विद्यावारिधिको शोध गरिरहनुभएको छ । उहाँ उक्त वहसका लागि प्रेरक हुनुहुन्छ । त्यस्तै यो कार्यक्रम गर्नका लागि कियाचु, पोर्तुगलका प्रमुख सल्लाहकार दीपा लिवाङ दिदीसँग गर्दा उहाँले दिनु भएको आँट, भरोसाले यो कार्यक्रम गर्न थप ऊर्जा मिल्यो । कियाचु कार्यसमितिको साथ सहयोगले यस कार्यक्रमलाई जसरी पनि सफल बनाउनु पर्छ भन्ने भयो ।

mostbet

दिनभरिको काम अनि थकीत शरीरमा अनेक सवालजवाफहरू खेल्न थाले, यो बिषयमा सबैभन्दा धेरैपटक किशोर दाइसँग नै छलफल भयो । उहाँको सकारात्मक प्रतिक्रियाले यो बिषयमा बाँकी थप ब्यक्तित्वहरूसँग जोडिन पुगेँ । पोर्तुगलको पोर्तोमा बसोबास गरिरहनु हुने आदरणीय दाइ राजकुमार दिक्पालसँग यो बिषयमा कुराकानी गर्दा उहाँका सकारात्मक प्रतिक्रियाहरूले मलाई थप उत्साहित बनायो ।

Advertisement

त्यसै गरी मेरो आत्मीय मित्र युवा बौद्धिक ब्याक्तित्व, याक्थुङ मुन्धुमका अध्येता तथा कियाचु पोर्तुगलका निवर्तमान अध्यक्ष प्रेम चन्द्र निङ्लेखुसँग विभिन्न भेटघाटमा यस बिषयमा थप चर्चा हुनगयो । करिब एक दशकभन्दा पहिले काठमाडौंको हार्दिक होटलमा एक कार्यक्रममा छोटो भेट भएको आदरणीय दाई विश्वासदीप तिगेलासँग सिसेक्पा तङनाममा भेट गर्ने सरसल्लाह भइरहेको थियो । यसै अवसरमा उहाँलाई पनि एकजना वक्ताको रुपमा निमन्त्रणा गर्ने निर्णय गरियो । डायास्पोरामा लिम्बूहरूको साहित्य भन्ने बिषयमा कार्यपत्रका लागि गरिएको अनुरोधमा गरिएको थियो तर उहाँले अर्कै शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने कुरा बताउनु भयो । उहाँसँग हाम्रो भौतिक रुप भेटघाट नभए पनि हामी बिचमा साह«ै आत्मीयताका साथ सामाजिक सञ्जाल मार्फत कुराकानी भइरहन्थ्यो । अर्का वक्ताको रुपमा लिस्बोन पोर्तुगलमा ब्यवसाय गर्दै विद्यावारिधिकै शोध गरिरहनुभएका भएका आदरणीय रोबर्ट लिम्बू दाइसँग धेरै पटकको फोन सम्पर्कपछि उहाँले एउटा कार्यपत्र प्रस्तुत गर्नुहुने कुरा भएसँगै हामीले सबैजना धेरै पटक म्यासेन्जर ग्रुपमा सम्पर्क भई यो बिषयमा थप छलफल ग¥यो ।
डायास्पोरामा बसेर किरात याक्थुङ चुम्लुङबाट आयोजना गरिने नियमित कार्यक्रमभन्दा बाहेक अरु केही नयाँ गरौं भन्ने हेतुले गर्न लागेको यो कार्यक्रम याक्थुङ समुदायको मुन्धुम, इतिहास, राजनीतिक अवस्था, सामाजिक अवस्था, प्रवासमा याक्थुङ लिम्बूहरूको साहित्य सम्बन्धी जानकारी, याक्थुङ लिम्बूहरूको बसाई सराई सम्बन्धी के कस्तो अवस्था छ ? यी बिषयहरूमा बहस गर्ने कुरासँगै यो बहसको शीर्षक के राख्ने भन्ने बिषयमा छलफल गरियो । “लिम्बूवान प्राज्ञिक बहस” नाम राख्ने प्रस्तावमा यस्ता बहसहरू श्रृंखलाबद्ध रुपमा फेरि पनि गर्नु पर्छ भन्ने कुरा भएकोले “लिम्बूवान प्राज्ञिक बहस श्रृङ्खला–१” राख्ने सहमति भयो । एकासाताको समयसीमा राखेर वक्ताहरूलाई कार्यपत्रको शीर्षक उपलब्ध गराइदिने सम्बन्धमा पत्रचार गरियो ।

परदेशको बसाई, हप्तामा ६ दिन काम गर्नै पर्ने बाध्यता । कार्यक्रम नजिकिदै गरेको अवस्थामा त्यसमाथि यस पटकको सिसेक्पा तङनाम दुई दिने कार्यक्रम गर्ने कुराले अवस्य पनि तनाब त हुने नै भयो । एक दिन बिदा पनि करिब राजधानी लिस्बोनबाट एक घन्टा टाढा बसाई भए पनि प्रत्येक बिदामा लिस्बोन आउने कार्यक्रम नै हुने गर्दथ्यो । कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा लिस्बोनमा रहनु हुने आदरणीय टेक थापा मगर दाइसँग धेरै पटक छलफलसहित सल्लाहसुझाब दिइरहनुहुन्थ्यो । त्यस्तै अर्का आत्मीय मित्र एन.बि. अञ्जानसँगको भेटघाटमा पनि यस बिषयमा चर्चा हुने गर्दथ्यो ।

सबैजना आदरणीय वक्ताहरूद्वारा आ–आफ्ना कार्यपत्रको शीर्षक उपलब्ध भएसँगै ब्यानर बनाउनको निम्ति मेरो आत्मीय मित्र बिक्रम राई (जमिन्दार) सर सहर्ष स्विकार्दै डिजाइनको तयारीमा जुट्नु भयो । वक्ताहरूको कार्यपत्रको शीर्षक उपलब्ध भएपछिको म्यासेन्जर ग्रुपमा “लिम्बूवान प्राज्ञिक बहस श्रृङ्खला–१” मा युरोप पनि थप्ने अर्को सहमति भएपछि अन्ततः “लिम्बूवान प्राज्ञिक बहस युरोप श्रृङ्खला–१“ कायम हुन गयो । आगामी दिनमा किरात याक्थुङ चुम्लुङ संस्था गठन भएका अन्य युरोपियन मुलुकहरूले पनि यस बहस श्रृङ्खलालाई निरन्तर रुपमा अघि बढाउन सक्ने हेतुले यसलाई अन्तिम रुप दिइएको हो । कार्यपत्रहरूमा किशोर सुब्बा लिम्बुले पोर्तुगलमा कृषि क्षेत्रमा काम गर्ने नेपालीहरू विषयमा, राजकुमार दिक्पालले लिम्बूहरूको ऐतिहासिक पक्ष विषयमा, प्रेम चन्द्र निङ्लेखुले मुन्धुम भित्रका विविध पक्ष सम्बन्धमा, विश्वासदिप तिगेलाले राजनीतिमा याक्थुङ लिम्बूहरूको सहभागिता विषयमा र रोबर्ट लिम्बूले लिम्बूहरूको स्वायत्ततादेखि भूमीविहीनतासम्मको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्ने तय गरियो ।

कार्यक्रम स्थानको लागि आदरणीय धन शेर्पा दाइको अन्जोसस्थित “एभरेष्ट रेस्टुरेन्ट“ गर्ने तय गरियो । बिक्रम राई सरद्वारा कार्यक्रमको एकदम सुन्दर डिजाइन सहित व्यानर तयार गरिदिनु भयो। ब्यानर बनेपछि विभिन्न माध्यमबाट प्रचारप्रसार गरियो । व्यानर सार्वजनिक भएपछि विद्वत्त ब्याक्तित्वहरू दिलबिक्रम आङ्देम्बे, सन्देश सुब्बा, मधुराज केरुङ, बदन योङ्हाङ, बिबस माङ्मु लगायत शुभचिन्तकहरूले कार्यक्रमका बारेमा सकारात्मक प्रतिक्रिया तथा हौसला प्रदान गरिरहनुभयो । त्यस्तै यस कार्यक्रमलाई डिजिटल रुपमा पनि सुरक्षीत राख्नको लागि डिजिटल लिस्बोनका भाइ कृष्ण मगरसँग भिडियो खिच्ने कुराको निधो भयो । सिसेक्पा तङनामको चटारो अर्थात अर्को दिनको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सँगसँगै यस कार्यक्रमलाई कसरी सफल बनाउने भन्ने बिषयमा विभिन्न तवरले सम्पुर्ण सहयोगी तथा शुभचिन्तकहरूसँग छलफल गरिरह्यौ। त्यस्तै लिम्बूहरूको मुन्धुम, इतिहास, राजनीति अवस्था इत्यादीको बिषय एउटा रात्रीभोजसहितको बहस कार्यक्रम किरात याक्थुङ चुम्लुङले आयोजना गरेको बारेमा नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगलका अध्यक्ष चोपकुमार मगर ज्युलाई जानकारी गराई आर्थिक, नैतिक तथा भौतिक रुपमा सहकार्यको लागि अनुरोध गर्दा उहाँले “यो त साह्रै राम्रो कुरा हो । यस्ता बहसहरू गर्नु÷गरिनु पर्ने आवश्यक रहेको कुरा गर्दै कार्यसमितिको बैठकमा यस बारेमा प्रस्तावना गरि छलफल गर्ने र यस विषयमा संस्थागत तथा मेरो व्यक्तिगत पुर्ण साथ सहयोग रहनेछ” भनेर आश्वस्त पार्नुभयो । फलस्वरुप महासंघ लगायत महासंघसँग आवद्ध जातिय संस्थाहरूः तमु समाज, मगर संघ, शेर्पा किदुग, किरात राई सोसाइटी, नेवा खल, तमाङ समाज संस्थाहरूबाट आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग रह्यो ।

कार्यक्रमको निर्धारित समयमै कार्यक्रमको सुरुवात गरेता पनि धेरैजना वक्ताहरू भएकोले कार्यपत्र प्रस्तुत गर्न र छलफलमा सहित करिब ४ घन्टामा कार्यक्रम सफलरुपमा सम्पन्न भयो । सबैजना वक्ताहरूले आ–आफ्नो बिषयमा अत्यन्त सुन्दर तरिकाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम गर्दाको केही सकारात्मक पक्षहरूः
उक्त बहसले याक्थुङ लिम्बूहरूको मुन्धुम, इतिहास, प्रवासमा राजनीति अवस्था, बसाइँसराइको अवस्था, पहिचानको चिन्तनका साथै विभिन्न ब्याक्तित्वहरूसँगको भेटघाटको अवसर ।

लिम्बूवानको इतिहास, भाषा, संस्कृति र राजनीतिक पृष्ठभूमिबारे जानकारी आदान–प्रदानका जिज्ञासा र खोजी गर्ने संस्कार प्रोत्साहित हुने ।

अन्य समुदायको विविध पक्षहरू बहस गर्न सकिने ।
डिजिटल रुपमा अडियो भिडियोका साथ दास्तावेज भइ सुरक्षित रहने ।

सच्चिनु पर्ने केही कुराहरू
निर्धारण गरिएको समयभन्दा केही लामो भएकोले आगामी दिनहरूमा समय व्यावस्थापनमा विशेष ध्यान दिनुपर्ने ।
लिम्बुवान प्राज्ञिक बहस युरोप श्रृङ्खला–१ भएकोले स्वाभाविक रुपमा लिम्बू समुदायको उपस्थिति बाक्लो नहुनुले गम्भीर रुपले मनन गर्नु पर्ने ।

समय, आर्थिक स्रोत र भौगोलिक दूरीले गर्दा निरन्तरता दिन गाह्रो हुने देखिए पनि बर्षमा एकचोटि गर्नु पर्ने चुनौतीहरू छन् ।
अन्त्यमा…. मैले यो कार्यक्रममा याक्थुङ लिम्बूहरूको मुन्धुम, इतिहास, राजनीतिक अवस्था, बसाइँसराइ अवस्था साथै पहिचानका कुराहरू प्राज्ञिक बहस, प्राज्ञिक ब्याक्तित्वहरूबाट गरेको हो। यस प्रकारको बहसहरूमा याक्थुङ लिम्बू तथा अन्य साथिभाइहरूको बाक्लो उपस्थिति गराई यहाँमात्र नभएर विश्वका विभिन्न ठाउँहरूमा रहेका हामी सबैका लागि यस्तो बहसलाई निरन्तरता दिनुपर्ने महसुस भयो ।