टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १२औं वार्षिक उत्सव सम्पन्न गरेको छ । आइतबार जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमको आयोजना गरी महासंघले आफ्नो स्थापना दिवस मनाएको हो ।
जापानको टोकियोमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताए । उनले जापानको नेपाली समाज समृद्धिको बाटोमा रहेको र अनुकरण योग्य भएको पनि बताए ।


जापानको संचारकर्मले जापानी र नेपाली समाजको पुलको रूपमा काम गरिरहेको राजदुत सुवेदीको भनाइ थियो । उनले भने, ‘पत्रकार महासंघ र यहाँको नेपाली संचारकर्मले नेपाली कला, संस्कार र संस्कृतिलाई जोगाउन टेवा पूर्याएको छ । जापानको नेपाली पत्रकारिताले दूतावासको कामलाई नेपाली समुदायमा पूर्याउन उल्लेखनीय काम गरेको छ ।
महासंघको स्थापना दिवस विशेष कार्यक्रमको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिक उपसंयोजक ददिवल खड्का, पत्रकार महासंघका संस्थापक सभापति तिलक मल्ल, एनआरएनए आइसीसी उपाध्यक्ष रथा महासंघका संस्थापक सल्लाहकार भूषण घिमिरे, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीब राई, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकाश केसी लगायतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा जापानमा रहेका सक्रिय नेपाली पत्रकार, नेपाली दूतावास, एनआरएनए र विभिन्न नेपाली संघ-संस्थाको नेतृत्वको उपस्थितिमा संस्थापकहरुलाई माया चिनो प्रदान, शुभकामना आदान-प्रदान र चियापान गरेको थियो ।
समारोहमा पत्रकार महासंघ जापानले १२ वर्ष पुरा गरी १३ वर्ष लागेको अवसरमा संस्थापकहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरेको थियो ।
अध्यक्ष शान्त पहरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम महासंघका सचिव राजन गौतमले संचालन गरेका थिए भने उपाध्यक्ष इन्द्रा खनालले स्वागत मन्तव्य राखेका थिए।
पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ तारिख जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमा स्थापना भएको थियो ।

