न्यूयोर्क । लोकतन्त्र र मानवाधिकारवादी अभियन्ता डा.गोपालकृष्ण शिवाकोटीले गिरिजाप्रसाद कोइराला फाउन्डेशन(जीपी फाउन्डेसन) अमेरिका च्याप्टरका प्रतिनिधिहरुसँग भेटघाट गरेका छन् । उनलाई फाउन्डेशन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाले खादा लगाई कार्यालयमा स्वागत गरे ।
भेटघाटको अवसरमा शिवाकोटीले नेपालमा हाल लोकतन्त्र र मानव अधिकारको अवस्था अत्यन्त जटील मोडबाट गुज्रीईरहेको, दलहरूको स्वार्थ बाझिएको, राष्ट्रियता खतराको बिन्दुमा रहेको बताए । उनले स्वर्गीय गिरिजाबाबुको राष्ट्रियताको विषयमा भएको चट्टानी अडानको कारणले तत्कालीन द्वन्द्धरत माओवादी पक्ष र राज्यपक्ष एवं दरवारबीच कुटनीतिक र दुरदर्शी ढंगले व्यवस्थापन गरेको स्मरण गरे । साथै गिरिजाबाबुको अगुवाइमा बिना रक्तपात राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भएको तर त्यसको व्यवस्थापनमा हालका नेतृत्वकर्ता दल र नेताबीच विश्वासको संकट भएको औंल्याए ।
देशले अहिले गिरीजावावुले स्थापित गराएको सहमती, सहकार्य र एकताको पथबाट अघि बढ्न नसक्दा गणतन्त्रनै धर्मराएको आफुले महशुस गरेको उनले बताए । देश कतै अफगानिस्तान वा श्रीलंकाझैं हुने त होइन भनी चिन्ता ब्यक्त गरे ।
फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले फाउन्डेशनले नेपाल र अमेरिकामा गरेका सामाजिक एवं मानवीय गतिविधीहरूबारे प्रष्ट्याउँदै आफुहरूलाई प्रवासमा रहँदा पनी नेपालकै चासो र चिन्ताले पिरलिरहेको र देश विकासमा टेवादिन फाउन्डेशन लागिपर्ने बताए । कार्यसमिति सदस्य सुर्य सिंखडाले डा शिवाकोटीको बिद्वता र अनुभवको देशले सही मुल्यांकन गरी लोकतन्त्र एवं मानवाधिकारको मजवुतीकरणमा लाग्नुपर्ने बताए ।
डा.शिवाकोटी एसिया प्यासाफिक शरणार्थी नेटवर्कका पूर्वअध्यक्ष, एसियन नेटवर्क फर फ्री ईलेक्सनका बरीष्ठ अन्तर्राष्ट्रीय पर्यवेक्षक, ईन्हुरेड ईन्टरनेशनलका अध्यक्ष ,विभिन्न राष्ट्रहरूमा भिजिटिंग प्रोफेसरको अनुभव संगालिसकेका अन्तर्राष्ट्रीय अधिकारकर्मीको रूपमा समेत परिचित छन् ।
फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले डा शिवाकोटीलाई भेटघाटका लागि समय र उपस्थिति जनाउनुभएकोबा धन्यवाद दिए । भेटघाटलगत्तै डा. शिवाकोटी मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रीय पर्यवेक्षणमा भागलीन युरोपको जेनेभा प्रस्थान गरेका थिए ।