कुवेत । नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा कुवेतमा राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार भव्य रुपमा मनाइएको छ । शुक्रबार कुवेतको जिलिवस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो ।
‘ॐ माने पेमे होम’को धुनसँगै लामा गुरुहरुबाट बुद्ध धर्म सम्बन्धी पाठ पूजाआर्चना गरी शुरुवात गरेको कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको उपस्थिति रहेको थियो ।
नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारी रहेका थिए । यस्तै, अन्य अथितिहरूमा कुवेतमा आबद्ध विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र पत्रकारहरु रहेका थिए ।
प्रमुख अतिथि र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको विधिवत उद्घाटन गरेका थिए । ।संस्थाका सदस्य कलाकार तृष्णा तमाङले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने संस्थाका सल्हाकार केशर घलान तामाङ र कार्यक्रम संयोजक नेपाल तामाङ सँस्कृती घेदुङ कुवेतका अध्यक्ष हिमाल लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा उपस्थितहरु आफनो भेष–भुषामा सजिएका थिए भने नेपाल तामाङ घेदुङ कुवेत सांस्कृतिक परिवारका कलाकारहरुले तामाङ पहिचान र मौलिकता झल्काउने खालका सेलो नाँच, डाँम्फ नाँच, म्हेन्दो माया नाँच युगल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगीतकार गायक विश्व दोङ तामाङले आफ्नो नयाँ पुराना दर्जन भन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गराएका थिए ।