लन्डन । गैर-आवसीय नेपाली संघ(एनआरएनए)युकेले बेलायतमा रहेका नेपालीहरु तथा व्यवसायीहरुरविरुद्ध लक्षित गरी गैरकानूनी कृयाकलाप भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त सम्बन्धमा १७ सेप्टेम्बर २०२२ को ट्रष्टीहरुको बैठकपछि जारी वक्तब्य अनुसार डा.भीम पुन, विश्वदीप तिगेला र शारदा गुरुङ नाम गरेका व्यक्तिहरु, यस पछाडि (तीन व्यक्तिहरु भनिएकोहरुले यस संस्थाका ट्रस्टीहरूको र बेलायतमा बस्ने नेपाली मूलका व्यक्तिहरूको व्यक्तिगत जीवनविरुद्ध गैर–कानूनी कृयाकलाप गरी संस्थालाई समेत बदनाम गरेकोप्रति एनआरएनए यूकेले ध्यानाकर्षण भएको जनाएको हो ।
ट्रष्टिहरु सुनिलबाबु खड्का, गोबिन्द शर्मा खरेल, विष्णुप्रसाद खरेल, नारायणदत्त कंडेल, खुशीमान तावा लिम्बु र सुरेश परियारले संयुक्त रुपमा वक्तब्य जारी गर्दै तीन व्यक्तिहरुले आफू यूकेको कानून कार्यान्वयन गर्ने अदालत नै हौ भने जस्तै गरेर व्यक्तिहरुको बेइज्जत गर्ने कार्यहरु गरिरहेको र आफूहरु प्रहरी नै भएजस्तै गरी बिभिन्न व्यक्तिहरूलाई अनुसन्धानका लागि बोलाउँदैछन् भनी पत्र पठाएको उल्लेख गर्ने गरेकाले तीन व्यक्तिहरुले धेरै व्यक्तिहरुको व्यक्तिगत जीवनमा अमर्यादित प्रहार गरीरहेको उनीहरुको ठहर छ ।
संयुक्त बक्तब्यमा भनिएको छ,‘हामी गैर–आवासीय नेपाली संघ यूके, च्यारिटी नम्बर ११९६(३), का ट्रस्टीहरु हौं । हाम्रा गतिविधिहरु च्यारिटी कमिसनद्वारा नियमन हुन्छन् भने हामी हाम्रो आफ्नै गभर्निंग डकुमेन्ट अनुसार संचालित छौं । तदनुसार हामी हाम्रो अधिकार र कर्तव्यहरू बारेमा पूर्ण जानकार र जिम्मेवार छौं । हामी जिम्मेवारीपूर्वक र कानूनअनुसार काम गरिरहेका छौं, किनभने हाम्रा गतिविधिहरु च्यारिटी कमिसन जस्तो बेलायतको सक्षम नियामक निकायद्वारा निरीक्षण र परिक्षण हुन्छन् र गर्न सकिन्छ । यी माथि उल्लेख भएका (तीन व्यक्तिहरू) उनीहरुले दावी गरे जस्तो हाम्रो संस्थासंग सम्बन्धित छैनन् । व्यक्तिको जीवनमा हस्तक्षेप हुनेगरी कसैको विरुद्ध अनुसन्धान गर्ने जस्तो संवेदनशील मामिलामा संलग्न हुने यिनीहरूको व्यावसायिक र कानूनी क्षमता, अधिकार वा सरकारी अनुमति पत्र आदिका बारेमा हामीलाई जानकारी छैन । उनीहरूले आफ्नो पत्रमा उल्लेख गरे जस्तो हाम्रो वार्षिक साधारण सभा भएको छैन र हामीलाई यस्तो भएको जानकारी पनि छैन । हामीले कसैलाई हाम्रो लोगो र च्यारिटी नम्बर प्रयोग गर्न अनुमति कहिल्यै दिएका छैनौं, तर यिनीहरुले निरन्तर यसको प्रयोग गरिरहेका छन् । जसका कारण उनीहरुको यो गैर–कानूनी गतिविधिमा हाम्रो ध्यानाकर्षण भएको छ । त्यसैले यी स्वधोषित न्यायधिश, प्रहरी र अनुसन्धानकर्ताहरु गैर–आवासीय नेपाली संघ यूके (च्यारिटी नम्बर ११९६(३) संग सम्बन्धित नभएको स्पष्ट पार्न चाहान्छौं ।’
बक्तब्यमा अगाडि भनिएको छ,‘उल्लिखित तीन व्यक्तिहरुले कानूनलाई हातमा लिएर न्यायपालिकाको न्यायधीश नै भएझैँ गरी व्यक्तिहरुमाथि आरोप लगाउने, उनीहरुको गोपनीयतामा, पारिवारिकक तथा व्यक्तिगत जीवनमा गम्भीर हस्तक्षेप गर्दै बदनाम गर्ने, तस्विरहरु सार्वजनिक गर्ने, अनुपयुक्त र मानहानीपूर्ण प्रचार प्रसार गर्ने र व्यक्तिगत व्यवसायमा समेत आक्रमण गर्ने गरेका छन् । नेपाली समुदायलाई सताउने यी स्वधोषित प्रहरी, स्वधोषित न्यायधिशहरु तथा स्वधोषित अनुसन्धानकर्ताहरुको गैर कानूनी कृयाकलापबारे सम्बन्धित निकायमा सम्पर्क गर्न ढिला गर्ने हो भने उनीहरुले हाम्रो समुदायलाई थप सताउने छन भन्ने कुरामा हामी सचेत छौं ।’
निज व्यक्तिहरुको गतिविधिहरूले व्यक्तिगत जीवन, इज्जत, मान–मर्यादा, व्यापार, पारिवारिक, र सामाजिक जीवनलाई गम्भीर रूपमा असर पुगेको, व्यक्तिको मौलिक तथा कानूनी अधिकारमाथिको गम्भीर र व्यवस्थित आक्रमण भएको जनाइएको छ । उक्त विषयमा बेलायतको कानून कार्यानवयन गर्ने निकायको ध्यानाकर्षण गराउँदै उनीहरुको कृयाकलापको उचित कारवाहीको माग गरेका छन् । साथै व्यक्तिगत रुपमा पीडितहरुलाई समेत यस्ता घटनाको प्रहरी तथा सम्बन्धित निकायमा रिपोर्ट गर्न आग्रह गरिएको छ ।