May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने

325

लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेले पत्रकारितामा लागेकाहरूका लागि प्रोत्साहन स्वरुप ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ । शुक्रबार सम्पन्न त्रैमासिक बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

भर्चुअल रूपमा जुममा सम्पन्न बैठकले सो पुरस्कार वार्षिक रूपमा वितरण गर्ने फोनिज यूकेकी अध्यक्ष गोमा राना मगरले बताइन् । ‘नयाँ पत्रकार, लेखकहरूलाई प्रोत्साहन गर्न फोनिज यूके पत्रकारिता पुरस्कार स्थापना गर्ने भएका हौँ,’ उनले भनिन्, ‘हाम्रा सवालहरूलाई प्राथमिकता दिनेहरू पुरस्कृत गर्नेछौं ।’ पुरस्कार छनोट समितिमार्फत् प्रत्येक वर्ष एक वा एकभन्दा बढी पत्रकारहरू पुरस्कृत हुनेछन् ।

बैठकले, निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राईलाई सल्लाहकारमा चयन गरेको छ । त्यस्तै, सदाझैँ फोनिज यूकेको जर्नल प्रकाशनलाई निरन्तरता दिने समेत निर्णय गरेको छ । यसको प्रकाशनका लागि सल्लाहकार रि.मेजर सोनाम शेर्पाको संयोजकत्वमा समिति बनाइएको छ । जसको सहसंयोजकहरूमा सल्लाहकार नरेश खपाङ्गी मगर र उपाध्यक्ष बम सूर्यवंशी रहेका छन् । बैठकले आगामी जून २६ मा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि पत्रकारिता तालिम समेत राख्ने भएको छ । तालिममा नेपाल पत्रकार महासङ्घ यूकेका पूर्व अध्यक्ष नरेश खपाङ्गी मगरले तालिम दिनेछन् ।

Advertisement

फोनिज अध्यक्ष गोमा राना मगरको अध्यक्षतामा भएको बैठक सचिव लीला सेलिङ माबोले सञ्चालन गरेकी थिइन् । उपाध्यक्ष सूर्यवंशीले स्वागत मन्तव्य राखेका थिए । बैठकमा सल्लाहकारहरू ज्ञाम गुरुङ, दूत पुन, विश्वासदीप तिगेला, विमला सेने, जमुना पुन, मिलन तमु, नगेन्द्र नेम्वाङ,सदस्य महा राई, विश्व मगर, लिम्बु पत्रकार सङ्घ यूके अध्यक्ष अमित थेवे लगायतको समेत उपस्थिति रहेको थियो ।