May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

विनोद कुँवर मात्र किन ? उपेन्द्र महतो र शेष घले पनि अध्यक्ष भएपछि मात्र चिनिएका हुन् – थर्क सेन

2.5K

गैर-आवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न दशौं महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचत थर्क सेन लामो समयदेखि बेलायतमा रहँदै आएका छन् । पुर्व गोर्खा सैनिक थर्क सेन पेशाले ड्राइभिङ प्रशिक्षक हुन् र नेपालमा बिभिन्न क्षेत्रहरुमा लगानीकर्ता पनि हुन् । उनी गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको संस्थापक सदस्य हुन् । २००९–११ कार्यकालमा एनआरएनए युकेको कोषाध्यक्ष, २०११–१३ मा उपाध्यक्ष र २०१३–१५ मा आइसीसी सदस्य रहेका सेन त्यसपछिको दुई वटा कार्यकाल २०१५–१७ र २०१७–१९ मा एनआरएनए आइसीसीको रोड सेफ्टी बिभाग र स्किल एण्ड न्वलेज ट्रान्सफर उपसमितिको प्रमुख संयोजक भएर लगातार काम गरे । यसै सन्दर्भमा नेपालमा हुने गरेका सडक दुर्घटनाहरुमा कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा उनका  पुस्तकहरु  पनि प्रकाशित भएका छन् । नेपाल मामिला डट कमको नियमित कार्यक्रम #खुशीको_साथ_एक_संवाद मा प्रधान सम्पादक खुशी लिम्बू र एनआरएनए आइसीसीका नवनिर्वाचित उपाध्यक्ष सेनबीच अहिलेको एनआरएनए विवाद र अबको कदमबारे भएको कुराकानी यहाँ प्रस्तुत छः

भर्खरै निर्वाचित भएर काठमाडौंबाट बेलायत फर्किनुभएको छ, तपाईलाई एनआरएनए आइसीसी उपाध्यक्ष या आइसीसीको शेष घले समुहद्धारा निर्वाचित उपाध्यक्ष के भन्नु सान्दर्भिक होला ?
म चुनावी प्रक्रियाबाट अगाडि आएको हुँ, कुनै समुह नभई एनआरएनए आइसीसीको प्रक्रियाद्धारा बनेको उपाध्यक्ष हुुँ ।

एनआरएनएको प्रमुख संरक्षक डा. शेष घलेको नेतृत्वमा भएको चुनावमा कुल आचार्यहरू आएनन् । कुल आचार्यसहित बेलायतबाट जम्मा १२ जना उम्मेद्वारहरु शेष घलेलाई छोडेर उनीहरु डा. उपेन्द्र महतो समूहले आयोजना गरेको अर्को महाधिवेशनमा भाग लिए । बेलायतबाट गएका उक्त १२ जना उम्मेद्वारहरुको समुहबाट तपाइँ मात्रै कसरी उछिट्टिनुभयो ?
विधान र विधिबाट शेष घलेजीको प्रतिनिधित्वमा गैर-आवासीय नेपाली संघले अधिवेशनको आह्वान गरेको थियो । आह्वान गर्नेमा परराष्ट्र मन्त्रालय, उच्च अदालत र कुमार पन्तजीको आफ्नै संरक्षक समितिले पनि चुनाव गराउने भन्ने वहाँलाई आधिकारिकता दिएको हो । शेष घलेजी चाहिँ संरक्षक समितिको पनि अध्यक्ष भएको नाताले त्यसैको आधारमा प्रक्रिया अगाडि बढाउनुभएको थियो र हामी त्यहि प्रक्रियाअनुसार अगाडि बढ्यौं  । केहि साथिहरू चाहिँ चुनाव भैहालेमा हारिन्छ भन्ने हिसाबले बाहिरिनुभएको हो । पछि वहाँहरूले आफू खुशी सहमतिको नाममा किसिम–किसिमको पदहरू उत्पादन गरेर बाँडफाँड गरि लिनुभएको रहेछ । त्यसलाई हामी डुब्लिकेट एनआरएनए भन्न चाहान्छौं ।

Advertisement

डुब्लिकेट एनआरएनए त भन्नुभयो, तर निर्वाचन गर्न शेष घलेले जिम्मा दिइएको थियो । तर कुल आचार्य लगायत धेरै जसोले शेष घलेले गरेको महाधिवेशनमा निर्वाचन प्रक्रियामा भाग नलिएपछि शेष घले एक्लैले गर्नु अवैधानिक भएन र ?

यसको वास्तविकता के हो भने, शेष घलेज्युले एउटा प्रक्रिया अगाडि बढाउनुभयो । त्यो प्रक्रियाअनुसार याक एन्ड यतिमा तीन दिन तीन रातका लागि बुकिङ गरिएको थियो । त्यहि अनुसार प्रक्रिया पनि अघि बढेको थियो । त्यहाँ कुल आचार्य, २-४ जना साथिहरू मात्र नभएर ६-७ सय जना डेलिगेट्स थिए । ६-७ सय जना डेलिगेट्सले फाइनल गभर्मेन्टसँग प्रक्रिया अगाडि बढाएको थियो । फाइनल प्रक्रिया भोटिङ थियो । केहि साथीहरू भोटिङदेखि डराएर भागेको यथार्थ हो । यसमा कति थिए र थिएनन् भन्ने कुरामा २-४ जना साथिहरू भागेकै हिसाबले बहुमत थियो भन्ने कुरा म मान्दिनँ । त्यहाँ २-४ जना भाग्ने साथि बाहेक सयौंै जना डेलिगेट्सहरू हुनुन्थ्यो । वास्तवमा शेष घलेजीले जे गर्नुभयो त्यो वहाँको ड्युटी थियो । पुरा गरेर देखाउनुभयो ।

तपाइँ २००५ सालदेखि निरन्तर एनआरएनए अभियानमा हुनुहुन्छ, तर तपाइँ कुल आचार्यको समुहमा नअटाउनुको कारण के हो ?
म एनआरएनएको संस्थापक सदस्यदेखि अहिलेसम्म सच्चा एनआरएनए हो । हामी खुल्ला विश्वास गर्ने मान्छे हो । तर यहाँ केहि साथीहरू पदकै लागि पैसा खर्च गर्ने, आफ्नो स्वार्थका लागि साथीभाई र समुहलाई हटाएर भएपनि आफू माथि जाने स्वार्थ देखिन्छ । यही केशमा पनि म भाइस प्रेसिडेन्ट र केहि साथीहरू अध्यक्ष उठेका कारण गर्दा म भाइस उठ्ने वित्तिकै भोट काटिन्छ र कमजोर हुन्छ भन्ने हिसावले वहाँले आफ्नो लाइनकालाई मात्रै हेरेको देखिन्छ ।

अध्यक्ष र उपाध्यक्ष एउटै देशबाट उठ्दा भोट काटिन्छ भन्ने वहाँको अड्कल हो ?
शतप्रतिशत त्यही हो ।

त्यसो हो भने त, यस विषयलाई सल्लाह नमिलेको भन्न मिल्दैन ?
राम्रो प्रश्न, कुलजी र म एनआरएनए युकेमा एउटै प्यानलबाट एकैचोटी सदस्य भएका हौं । त्यस्तै, एनआरएनए युकेमा म कोषाध्यक्ष हुँदा वहाँ उपाध्यक्षमा जानुभएको थियो । एनसीसीमा म उपाध्यक्ष भएर वहाँ अध्यक्ष भएर सँगै गएका हौं । नवौं अधिवेशनमा वहाँ अध्यक्षमा उम्मेदवार हुँदा साथीहरूको सल्लाह, सुझाव र सहमतिमा मैले उपाध्यक्ष छोडेको हुँ । तर, विडम्बना वहाँ हार्नुभयो । यसपटक मैले उपाध्यक्षका लागि समयमा नै उम्मेदवारी घोषणा गरेको हुँ । वहाँले विचार गर्नुपर्ने थियो ।

२०१९ मा तपाइँले वहाँलाई छोड्नुभयो, यसपटक वहाँले तपाइलाई छोड्नु पर्दथ्यो अथवा तपाइँलाई सहयोग गर्नु पर्दथ्यो भन्ने तपाइँको धारणा हैन त ?
त्यो त जायज अपेक्षा हो । मैले सहयोग नगर्नोस् भनेको खण्डमा पनि वहाँले गर्नुपर्ने हो । तर, वहाँको आफ्नै स्वार्थ छ । वहाँलाई जसरी हुन्छ आफै अध्यक्ष हुने, अरु जेसुकै होस् मतलब नहुने देखिन्छ । अहिलेको सन्दर्भमा पनि हामी सम्पूर्ण कुलजीकै  समुहको साथ लिएर अगाडि बढेका थिर्यौं, तर दुर्भाग्यवस अन्तिम समयमा वहाँले हामीसँग सरसल्लाह केइ नगरी अर्को  समुहमा गएर मिसिनु भएको हो ।

समुह छोड्नुपर्ने वहाँको बाध्यता चाहिँ के होला ?
जसको व्यक्तिगत स्वार्थ छ, उसले संस्थाका साथिहरूलाई सहयोग र सुझावभन्दा पनि संस्था र साथिलाई छोडेर आफ्नो व्यक्तिगत स्वार्थमा लागेको देखिन्छ । मैले बुझेअनुसार वहाँको स्वार्थ जसरी एनआरएनए अध्यक्ष हुनु हो ।

कुल आचार्यजीलाई अध्यक्ष त तपाइँहरू [शेष घले समूह] ले पनि बनाउनुहुन्थ्यो होला नि त ?
त्यही हिसाबले नै अगाडि बढेका थियौं, तर भोटिङ भएमा जितिंदैन भन्ने वहाँलाई लाग्यो होला ! र, समितिमा भए ६ महिना भएपनि अध्यक्ष पाइन्छ कि भन्ने वहाँलाई लाग्यो । अब जहाँसम्म उनले मलाई किन छोडेर गए भन्ने सवाल छ, वहाँले छोडेर गएपनि हामी भगुवा हैनौं, हामी सच्चा एनआरएनए हौं । आफ्नो सिद्धान्तमा हिँड्ने मान्छे हौं । काम र कर्तव्य गर्न चाहने मान्छे हौं । कसैले यो गर त्यो गर भनेर छोडेर हिँडेको भरमा वहाँको पछि लाग्ने कुरा आउदैन । वहाँ नभए हाम्रो संस्था नै नचल्ने भन्ने पनि देखिदैनँ । वहाँहरू भागेर जानुभयो, हाम्रो संस्था छदैछ । वहाँ भाग्दैमा हामी सबै एउटै मेसिनमा पर्ने भन्ने म देख्दिनँ । त्यहि हिसावले हामी अगाडि बढेका र्छौं । संस्था यथावत नै छ ।

त्यसो भए के बेलायतबाट गएका अन्य उम्मेद्वारहरु जस्तै, डा हेमराज शर्मा, रामशरण सिंखडाजीहरुलाई पनि त्यस्तै लागेको हो ?
वहाँहरू पहिलादेखि नै बद्री केसी समुहको हुनुन्छ । कुलजीसँग खासै सरोकार थिएन । म वहाँहरूलाई आरोप लाउदिनँ । वहाँहरू अर्कै  समुहबाट आउनुभएको थियो । चुनावी प्रक्रियामा यसलाई अन्यथा लिन पनि भएन । जनमानसले देखेको र मैले बुझेको समस्याको जड चाहिँ कुलजीले नै हो । वहाँले नै समस्या उत्पादन गर्नुभएको हो । यो कुराको निर्णय जनमानसले पनि गर्ला । मेरो विचारमा त वहाँले जे जति गर्नुभयो यो पूर्ण रुपमा स्वार्थको हिसाबले गर्नुभएको देखिन्छ ।

कुल आचार्यलाई “चुनावमा खर्च गर्ने हुति नभएको” र गर्ने “चुनाव जित्ने अवस्था नभएको उम्मेद्वार”  भन्ने आरोप लगाउछन्, तर वहाँ गएको चुनाव [२०१९] मा झिनो मतले मात्रै हार्नुभएको होइन र? त्यस हिसावले वहाँ यसपटक बलियो उम्मेद्वार नै हुनुहन्थ्यो । त उहाँ नभाग्नुपर्ने हैन र ?
जब मान्छेमा व्यक्तिगत स्वार्थ हुन्छ, तब उसले स्वार्थ मात्रै हेर्छ । तर, हामीले संस्थालाई प्राथमिकतामा राख्छौैं । संस्था रहे व्यक्ति रहने हो । अहिले केहि साथिहरूको व्यक्तिगत स्वार्थका कारण पैसाले पेलेर जाउँ भन्ने उनीहरूको विचार देखिन्छ । दशौं अधिवेशन लागि हामीले योजना मुताविक सबै कार्यक्रम गरेका थियौं । तर हामीले गरेको अधिवेशनको चार दिनपछि वहाँहरूले गर्नुभएको छ । यदि हामीले गरेको अधिवेशन अवैधानिक थियो भने वहाँहरूले किन रोक्न सक्नुभएन ? हामीले गरिसकेको अधिवेशनलाई सरकारले पनि मान्यता दिएको छ । सरकारले पनि रोक्न सक्थ्यो । हामीले अधिवेशन गरेको चार दिनपछि उहाँहरुले गर्नुपर्ने कारण के थियो ? उहाँहरूको हिम्मत भए त्यहि अधिवेशनमा उहाँहरू सबैलाई उम्मेदवारी दिन खुला थियो । सबै प्रक्रियाका लागि खुला थियो । चुनावबाट भाग्ने अनि आफ्नो खुशीले सहमति भन्दै जे मन लाग्यो त्यही पद उत्पादन गर्ने ? ३ जना अध्यक्ष, १८ जना उपाध्यक्ष, ८ वटा महासचिव, १० वटा सहसचिव पद उत्पादन गर्नुभएको छ । ती पदहरूको कुनै गन्ति नै छैन ।

तपाइँले वैधानिकताको कुरा गरिरहनुहुँदा उक्त महाधिवेशनलाई त राष्ट्रपतिले उद्घाटन र प्रधानमन्त्रीले समापन गर्नुभएको छ, त्यसैले वैधानिकता त वहाँहरूले पाउनुपर्छ भन्ने छ नि हैनर ?
३ जना अध्यक्ष भएको संस्था कुन ठाउँमा छ ? कुन देशमा एकैपटक ३ जना अध्यक्ष भएको पाइएको छ ? कुनै पनि देशमा छैन । १८ जना उपाध्यक्ष त झनै कहिँ पनि छैन । योे जनमानसले स्वतः बुझ्ने कुरा हो । अब प्रधानमन्त्रीले गरेको काम सबै ठिक हुन्छन् ? केपी ओलीलाई सर्वोच्चले किन फाल्यो ? यदि प्रधानमन्त्रीले गरेको सबै काम ठीक हुदो हो त केपीले गरेको काम पनि ठिक हुनुपर्ने हो । भिडकै कुरा गर्ने हो भने ७ सय जनाको समुहलाई कसरी भिड भन्ने ? वहाँहरू कति जना हुनुन्थ्यो भन्ने त विलले देखाउँछ । ७ सय जनाले खाएको बिल छ । वास्तवमै भन्ने हो भने त केहि साथिहरूले त्यहाँ खाएको बिल पनि नतिरी हिँड्नुभएको छ । आखिर बदनाम एनआरएनएको हुन्छ । थर्क सेन या विशेष व्यक्तिको त हुँदैन । २/३ रातका लागि याक एण्ड यति होटल बुक थियो तर रातारात भागेर विल त्यतिकै बाँकी छ । भुक्तानी गर्न बाँकी छ । अर्को कुरा त्यहाँ जाने भिड पद लिन जाने भिड हो । तर हाम्रोमा विधान अनुसार पद लिने नियम छ ।

अहिले शेष घले समुहमा मान्छे (पदपूर्तिका लागि उम्मेद्वार) नपुगेर विजोग छ भन्ने सुनिन्छ नि ?
त्यस्तो हैन, केही व्याग्राउण्डमा राखेका छौं, उताका (कुल आचार्य पक्ष) संग केही सहमति भइहाल्यो भने खाली स्थान फिल गर्न केहि स्पेसहरू राखेका हुन्छौं । छिट्टै पुरा पनि गर्दैछौं ।

एनआरएनए ठूलो संस्था भएतापनि गर्नुपर्ने कामहरू गर्न सकेका छैनन् भन्छन् नि ? एनआरएनएहरूबीच पनि कुरा मिल्दैन, एनआरएनए पछि गएर त्यस्तै अर्को संस्था जस्तो कि पिएनओ (पीपुल अफ नेपाली ओरिजिन) स्थापित होला कि भन्ने पनि जनमानसमा छ नि ? के शेष घलेको समुहले पिएनओलाई अगाडि बढाउने भन्ने हो ?
सान्दर्भिक प्रश्न । हामी सच्चा एनआरएनए हो । हाम्रो एनआरएनएमा राजनीति, जातीय पार्टी घुस्न सक्तैन । अहिले संस्थामा गडबडी भएकोले पार्टी र जातिको कुरा घुसेको बुझिन्छ । अर्को कुरा त्यस समुहमा हामी काम धेरै र गफ थोरै गर्नेहरू छौं । हामीले जहाँ समस्या हुन्छ त्यहाँ समस्या समाधान गर्ने हो । जस्तै मिडल–इस्ट र युकेको समस्या मिल्दैन । युकेमा विद्यार्थी र गोर्खा समस्या छ, मिडल–इस्टतिर लेबरहरूको समस्या छ । ती सबै समस्याहरूलाई रेकोग्नाइज गरेर जुन ठाउँमा जे समस्या छ त्यसलाई त्यही ठाउँमा समाधान गर्नलाई एनसीसीहरूलाई परिचालन गर्ने हो । अहिले आफैले विभिन्न किसिमको पद उत्पादन गर्दै प्रक्रियालाई विकृतितर्फ लगिराखेका छन् । जस्तै, अहिले नेपालकै कुरा गर्ने हो भने जुन नागरिकताको कुरा हामीले दशकौं वर्ष पहिलादेखि ल्याएको हो । सरकारसँग राखेका हौं । त्यसलाई नयाँ घोषणापत्र लिएर फेरि जानुपर्ने म देख्दिनँ । बरु कहाँ भएन ? कसरी भएन ? भन्नेतिर चाहिँ लाग्नुपर्ने हो । ‘भोको स्याल ठूलो कराउँछ’ भनेजस्तै हाम्रा केही साथीहरूले नानाभातिका क्रियाकलाप गरेको पनि देखिराखेका छौं । तर, हाम्रोमा त्यस्तो हुँदैन । हामी अघाएको बाघ जस्तै काम गर्ने हो । अब पिएनओको सन्दर्भमा पिएनओ खोल्न जरुरी छैन । हामी बैधानिक तरिकाले अगाडि बढेका हौं । र, हामीलाई बैधानिकता प्राप्त गर्न लिगल चयालेन्ज छ । त्यसका लागि हामी तयार भएर बसेका छौं । हामी समयको प्रतिक्षामा छौं । हामी बैधानिकता पाउँछौं । पद बाँड्ने फ्याक्ट्री जस्तै नानभातीको पदहरू उत्पादन गरेर संस्थाको मानमर्यादा गिराएको छ, त्यसको लागि हामी कानुनी उपचार खोजिरहेका छौं ।

‘देशको देउता र गाउँको भुत मिल्दैन’ भन्छन्, विनोद कुँवर देशको देउता र कुल आचार्य गाउँको भुत परे । अब बेलायवासी नेपालीहरूले देशको देउतालाई मान्नुपर्ने कि गाउँको भुतलाई ?
देश र गाउँभन्दा पनि कुलजीसँग मेरो व्यक्तिगत रुपमा आपत्ति केही हैन । वहाँहरू आफ्नो प्रक्रिया कसरी लैजानुहुन्छ हामीलाई मतलब भएन । हामी आफ्नै प्रक्रियाले अगाडि बढ्ने हो । यो र त्यो भन्नुभन्दा पनि हामीलाई वेवास्था गरेर उहाँ भागेको भने हो । त्यसमा वहाँको के विचार रहन्छ त्यो वहाँकै कुरा भयो । हामी एउटा संस्थामाथि फोकस छौं ।  एनआरएनए एउटा ग्लोबल संस्था हो । विनोद कुँवर टाढाको कुलजी नजिकको भन्ने हुँदैन । ग्लोबल कम्युनिकेशनमा काम गर्न जहाँबाट पनि गर्न संभव छ । कुलजीले के गरे के गरेनन् भन्ने कुरासँग हाम्रो मतलब रहेन । हामीले बुझेअनुसार ३ वटा अध्यक्षमा ६ महिना अध्यक्ष चलाउने भन्ने बुझिन्छ । त्यसमा पनि लिगल च्यालेन्जका लागि हामी तयार छौैं । यसरी सम्मानित साझा संस्थालाई बेइज्जत गर्नेगरी पद उत्पादन गरेको हुनाले उक्त पदलाई खारेज गर्न अदालतमा हामीले तयारी गरेका छौं । यो त हाम्रो संस्था हो । अदालतले के निर्णय गर्छ त्यो पछिको कुरा भयो तर यो अनावश्यक डुब्लिकेट एनआरएनएहरूलाई हामी लिगल्ली च्यालेन्ज गर्दैछौं । वहाँहरूको पद रहन्छ कि रहन्न मलाई थाहा छैन ।

विनोद कुँवर क्षमतावान र सच्चा एनआरएनए होलान् तैपनि एनआरएनएको सन्दर्भमा वहाँ ढिला नेतृत्वमा आउनुभएको हो भनेर नजरअन्दाज गर्न खोजिएको जस्तो देखिन्छ नि ?
व्यक्ति विशेष भन्दा पनि संस्थालाई के दिन सक्छ ? र के दियो ? भन्ने कुरा महत्वपूर्ण हो । वहाँ एकैचोटी हैन, डबल एनसीसी अध्यक्ष बनिसक्नुभएको मान्छे हुनुन्छ । त्यसरी नै भन्ने हो भने त उपेन्द्र महतो, शेष घलेजीहरू पनि डाइरेक्ट आउनुभएको हो । वहाँहरू त एनआरएनएको सदस्य पनि हुनुहुन्थेन । प्रष्ट कुरा गर्दा पैसामा बिक्ने पैसा पेलेर अध्यक्ष बन्ने भन्दा पनि नेपाल र नेपालीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने लाग्छ । धेरै हल्ला गर्ने, धेरै एक्टिभिटी गर्ने तर वास्तविक काम केहि नगर्ने पहिलाका साथिहरूले देखाएकै हुन् ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
तपाइहरूकै साथ र सहयोगले गर्दा म विधि, विधान र प्रक्रिया अनुसार अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएको छु । अहिले एनआरएनए आइसीसी अफ्ठ्यारो परिस्थितिमा पुगेको छ । केही साथिहरूको व्यक्तिगत स्वार्थका कारण यस अवस्थामा पुगेको हो । यसमा विचलित नभई संसारभरका सच्चा एनआरएनएहरू एकत्रित भइ हाम्रो अभियानलाई सुझाव दिनुका साथै साथ र सहयोग दिनुहोला । साझा संस्थालाई बचाइराख्नु हामी सबैको कर्तव्य हो ।

अन्तरवार्ताको युट्य्व भिडियो लिंक: