April 25, 2024, Thursday
२०८१ बैशाख १३
1:37:26 pm

बेलायतमा एनआरएनए युके महिला विभागले ११२औं नारी दिवस भव्य रुपमा मनायो

२०७८ फाल्गुन २४

4.3K

लन्डन । बेलायतमा गैर–आवासीय नेपाली संघ (एनआरएनए) युके महिला विभागले ११२औं नारी दिवस मनाएको छ । महिला विभागका संयोजक विमला लिम्बुको सभापतित्वमा ‘अन्तराष्ट्रिय नारी दिवस उत्सव २०२२’ विचार गोष्टी कार्यक्रम भएको हो ।

प्रत्येक वर्ष सिर्जनात्मक र महिला सहजीकरण केन्द्रित गतिविधि कार्यक्रमहरु गर्दै आइरहेको एनआरएनए युके महिला विभागले यस वर्ष पनि महिलाहरुले हासिल गरेको उपलब्धीको स्मरण गर्न, लैङ्गिक समानताबारे चेतना जगाउन साथै महिलाका विविध आयाम र सवालहरुमा परामर्श गर्न कार्यक्रम गर्न लागेको महिला विभाग संयोजक विमला लिम्बुले बताइन् ।

कार्यक्रममा बोल्दै विमला लिम्बु

एनआरएनए युकेको कार्यलय अल्डरसटमा भएको उक्त कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी एवम् अभियन्ताहरुले विकसित देशमा रहेपनि लैङ्गिक समानताका विविध सवालमा अझै पनि चुनैतीहरू कायम रहेको बताए । समग्र क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक रहेपनि समानता, पहुँच र अवसरका लागि आवाज उठाइरहनुपर्ने उनिहरुको जोड थियो ।

Advertisement

उक्त विचार गोष्ठी एवम् साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले विकसित देशमा समेत महिला हिंसा र असमान ज्यालाको समस्याहरू झेल्नुपरेको बताइन् । उनले महिलाका सवालमा पुरुषको पनि साथ रहनुपर्ने बताउँदै सामाजिकदेखि सांगठनिक तहसम्म महिलालाई सहयोगी पात्रका रूपमा नभएर कार्यकारी भूमिकामा राख्नुपर्ने बताइन् ।

यसैगरी, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले यूरोपमा महिला अधिकारका लागि विगतमा धेरै ठूला संघर्षहरू चलेको स्मरण गर्दै नेपाली समाजले समान शिक्षा, अवसर र पहुँचमा जोड दिनुपर्ने बताए । त्यस्तै, एनआरएनएको कार्यालयलाई माइत नभएर आफ्नो घर सम्झेर अधिकार र क्षमता प्रर्दशनका लागि अग्रसर हुन आग्रह गरे । त्यस्तै, बेलायतका लागि नेपाली राजदूतकी नवनियुक्त ज्ञानराज आचार्यकी श्रीमति सुनिता आचार्य समानता, न्याय र अवसरका लागि महिलाले सँगसँगै बढ्नुपर्ने जनाइन् ।

कार्यक्रममा बोल्ने क्रममा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर ।

गोष्ठीको वक्ताका रुपमा बोल्दै चिकित्सक डा. जित तामाङले आफ्नो क्यारियरका लागि शिक्षा महत्वपूर्ण भएको र यसका लािग घरायसी व्यवहारले चुनौती दिए पनि अघि बढ्न हिच्किचाउन नहुनेमा सचेत गराइन् । त्यस्तै, नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष सुनिता गौतमले नर्सिङ पेशामा भौतिक र मानसिक चुनौतीहरू प्रचुर मात्रामा रहे पनि यूकेमा अझै धेरै मागहरू बढिरहेको बताइन् । उनले नर्सिङ पेसामा बिचौलियाहरूले खेल्न खोजिरहेको भन्दै त्यसबाट बच्न विज्ञहरूसँग परामर्श लिनुपर्ने जनाइन् ।

त्यस्तै, महिला मानवाधिकारकर्मी परिना सुब्बा लिम्बुले लागूऔषध प्रयोगकर्ता र एचआईभी संक्रमितका क्षेत्रमा डेढ दशकदेखि सेवाप्रदायक संस्थामार्फत् काम गर्दै आइरहेकोबारे आफ्नो अनुभव सुनाइन् । दृष्टि नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी लिम्बुले आर्थिक सबलीकरण नभएसम्म अन्य सवालहरू अघि बढ्न अप्ठ्यारो भएकै कारण ओया इनिसिएटिभ्समार्फत् काम गरिरहको बताइन् । त्यस्तै, नेपालबाट आएका डा. सागर पौडेलले प्रजनन, मानसिक र अन्य शारीरिक रोगहरूका कारण पुरुषभन्दा महिला बढी प्रभावित भएका कारण जनचेतनामूलक कार्यक्रम र राज्य तहबाट वकालत गर्नुपर्ने भन्दै आफ्नो प्रस्तुति दिए ।

यसैगरी, मनोविश्लेषक एवम् प्राध्यापक डा. सुमाया राईले दिगो विकाससँग लैङ्गिक समानता जोडिएका कारण अर्थराजनीति, सामाजिक परिवर्तनका दौरान समाजमा मानसिक स्वास्थ्यमा चुनौती देखा परिरहेको बताइन् । डा. राईले यससँग जुझ्न पर्याप्त भौतिक र जनशक्तिको लगानी गर्नुपर्ने समेत थपिन् । अर्की वक्ता लारा राईले लैङ्गिकताको सवालमा अझै पूर्वाग्रह रहेका कारण यसलाई तोड्न थप कसरत गर्नुपर्ने धारणा राखिन् ।

उक्त अवसरमा एनआरएनए यूकेकी महिला विभागकी संस्थापक अध्यक्ष एवम् उद्यमी र पत्रकार संगीता मरहट्ठाले एनआरएनएमा महिलाको सहभागिता बढिरहेकोमा सन्तुष्टि व्यक्त गरिन् ।

कार्यक्रमलाई सहसचिव अञ्जु सुवालले सञ्चालन गरेकी थिइन् भने एनआरएनए यूके महासचिव खु्शी लिम्बु, पूर्व आइसीसी सदस्य शान्ति थापा लगायत उपस्थित थिए ।

महिला विभागले आइतबार बिहान नारी दिवसको भावमा एक साहित्यिक कार्यक्रम समेत राखेको कार्यक्रम संयोजक सुवालले बताइन् । महिला सशक्तिकरणका सवालमा भविष्य थप सिर्जनात्मक कार्यक्रमहरु गर्ने महिला संयोजक विमला लिम्बुले जनाइन् ।