लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिको ८२औं बैठकले एनआरएनए भित्रको विवाद मिलाउन गठन गरिएको संरक्षक परिषद्लाई भंग गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले संरक्षक परिषद् भंग गरेको हो ।
संरक्षक परिषद्मा प्रमुख संरक्षक शेष घले, संरक्षकहरुमा डा. उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, भवन भट्ट र रामप्रताप थापा छन् ।
एनआरएनए भित्रको विवाद मिलाउन प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय समितिले बिहिबार अध्यक्ष पन्त मार्फत निर्वाचन समितिमा प्रतिनिधि (डेलिगेट्स) विवादका बारेमा रिपोर्ट बुझाएपछि स्वत विघटन हुने निर्णय गरेको एनआरएनए स्रोतले जनाएको हो । । उच्चस्तरीय समितिलाई बिहिबार सम्मको समय सीमा भित्र विवाद रिपोर्ट बुझाउन अन्तिम अवसर दिइएको छ ।
त्यस्तै,आइसीसीमा पंजीकृत सदस्यहरुका रकम नबुझाउने एनआरएनए राष्ट्रिय समन्वय परिषद् युके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई पाँच दिन भित्र रकम बुझाउन अन्तिम अवसर दिने निर्णय गरेको छ । स्रोतका अनुसार पाँच दिन भित्र सचिवालयमा रकम दाखिला नगरे ति एनसीसीहरु खारेज गरि अध्यक्ष पन्त, महासचिब डा हेमराज शर्मा, क्षेत्रीय संयोजक वा उपसंयोजक वा महिला संयोजक रहेको पाँच सदस्यीय समिति वर्तमान कार्यसमिति पुनर्गठन गर्नेछन । ८ मार्च सम्म संघको खातामा रकम दाखिला गर्न अन्तिम पटक अपिल गरिने स्रोतले जनायो ।
बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन समितिको तोकिएको गर्ने निर्णय गरेको छ । बैठक निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार नै अघि बढन समितिलाई अनुरोध गरेको छ । साथै, आगामी साता आइसीसीको ८३औं बैठक डाकिने बताइन्छ ।