लन्डन । नेपाल पत्रकार महासङ्घ, यूकेको आयोजनामा एक दिने मिडिया कार्यशाला सुरु भएको छ । बेलायतमा रहेका संघसंस्थाका अगुवाहरूमा मिडियासम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
शनिबार भर्चुअल रूपमा जुममा आयोजना गरिएको कार्यशालामा प्रेस विज्ञप्ति लेखनबारे प्रशिक्षणात्मक कार्यशाला राखिएको महासङ्घ, यूकेका अध्यक्ष ध्रुव अर्यालले जनाए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ यूकेका पूर्व अध्यक्ष नरेश खपाङ्गी मगरले प्रशिक्षण दिइरहेका छन् । उनी दशक बढी समयदेखि छापा र अनलाइन पत्रकारितामा सक्रिय छन् ।
कार्यशालामा एनआरएनए, नेपाली संस्थाहरू, जातीय संस्थाहरू, गोरखा सैनिक सङ्गठनहरू, साहित्यिक संस्थाहरू, सञ्चार गृह लगायत चार दर्जन बढी संघ संगठनका करिब सय अगुवा एवम् प्रतिनिधिहरू सहभागी भएको महासचिव नरेन्द्र बस्नेतले बताए । बेलायतमा करिब साढे तीन सय बढी नेपाली सङ्घ संस्थाहरू स्थापना भएका छन् । नेपाल पत्रकार महासङ्घ, यूकेको स्थापना सन् २०११ मा भएको थियोे ।