June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

भुपु गोर्खाहरुको माग सम्बोधनबारे बेलायत सरकारले माग्यो नेपाल सरकारसँग जानकारी

2.8K

लण्डन । भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्ने विषयमा बेलायत सरकारले नेपाल सरकारले गरिरहेको तयारीबारे जानकारी मागेको छ ।

केही महिना अघि बेलायती प्रधानमन्त्री कार्यालय अघि तीन जना भुपु गोर्खाहरुले करिब दुई हप्ता लामो अनशन बसेका थिए । अनशन तोड्दै संघीय मन्त्री लियो डोचर्टीले नेपाल सरकार, भुपु गोर्खा संघर्ष समिति र बेलायत सरकारसँग छलफल गरी समस्याको समाधान निकाल्ने प्रतिबद्धता जनाएका थिए ।

सो समयमा मार्च २०२२ भित्र भूतपूर्व गोर्खाका मुद्दा सम्बोधन गर्ने कार्ययोजनासहित लिखित सहमति भएपछि अनशन स्थगित भएको थियो ।

Advertisement

सोही अनुसार यही डिसेम्बरमै वार्ता गर्ने भनिएको थियो । तर अहिलेसम्म वार्ताको कुनै प्रगति भएको छैन । यस विषयमा बेलायती विदेश मन्त्रालयले एक साताअघि नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भूतपूर्व गोर्खाका मुद्दा समाधानका लागि त्रिपक्षीय समिति बनाउने नेपालको तयारीबारे सोधेको हो।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग मंगलबार भएको भेटमा परराष्ट्रसचिव भरतराज पौड्यालले बेलायत सरकारको पत्रबारे जानकारी गराएका हुन्।

‘नेपालले बेलायतमा नयाँ राजदूत पठाएपछि मात्रै भूतपूर्व गोर्खाका मुद्दाबारे वार्ता गर्ने तयारी हो कि भनेर बेलायत सरकारले सोधेको छ। हामी अहिले समिति बनाउन गृहकार्यमा छौँ,’ सचिव पौड्यालले भने।

सचिव पौड्यालले बेलायतका लागि नयाँ राजदूतमा ज्ञानचन्द्र आचार्य प्रस्ताव गरिसकिएको र उनी बेलायत गएपछि बेलायतसँग भूतपूर्व गोर्खाका मुद्दामा संवाद अघि बढ्ने बताएका थिए। संघर्ष समितिका पदाधिकारीले सचिव पौड्याललाई सरकारका तर्फबाट यथाशक्य चाँडो वार्ता समिति बनाउन आग्रह गरेका थिए ।

बेलायत सरकारले सहमति गर्न तयार भएपनि नेपाल सरकार भने उदासिन रहेको भन्दै भुपु गोर्खाहरु आक्रोशित बनेका छन् ।

डिसेम्बर महिना बित्न एक साता बाँकी रहँदा नेपाल, बेलायत र भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि सम्मिलित त्रिपक्षीय वार्ता समिति बन्ने कुरामा कुनै प्रगति भएको छैन ।

नेपाल सरकार उदासिन भएको कारण यसअघि लण्डनमा अनशन बसेकी पुष्पा घलेले नेपालका प्रधानमन्त्री कार्यालय अघि अनशन बस्ने सार्वजनिक चेतावनी नै दिएकी थिइन् । गत अगष्टमा घलेसँगै ज्ञानराज राई र धन गुरुङले प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालय अगाडी अनशन बसेका थिए ।

१९९७ भन्दा अघिका भुपु गोर्खा सैनिकहरुले व्रिटिश सैनिकहरुसरह समान पेन्सन लगायतका विभिन्न मागहरु राख्दै भुपु गोर्खाहरु आन्दोलनमा रहेका छन् ।

समाचार लण्डन नेपाल न्युज डटकमबाट साभार गरिएको हो ।