January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

किसन राईको मृत्युमा रमाए भनिएका विनयले माफी नमाग्ने, भन्छन् : किसन भाइरस नै हो, मसँग प्रमाणै छ

२०७८ कार्तिक २३

1.7K

लन्डन । हङकङका पत्रकार किसन राईको मृत्यु प्रकरणमा मुछिएका बेलायतवासी विनय शाहले माफी नमाग्ने बताएका छन् । शाहले राईको मृत्युपछि ‘एउटा भाईरस सखाप, खुसीले मन नाचिरहेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै किरात राई यायोक्खा हङकङले आपत्ति जनाएको थियो ।

किरात राई यायोक्खा हङकङका संरक्षक र पूर्व उपकुलपति समेत रहेका किसन राईको निधनप्रति आएको उक्त अभिव्यक्ति अमानवीय र अवान्छित भएको हुँदा आम नेपालीमाझ माफी माग्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको भएतापनि आफूले माफी नमाग्ने विनय शाहले नेपाल मामिलालाई बताए ।

‘कुरा हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) को भाइबर ग्रुप च्याटको हो, खासमा त्यस ग्रुपमा हाम्रो प्रोजेक्ट पर्‍यो परेन भन्नेबारे कुरा भइरहेको थियो । एकजना साथिले यसपटक परेको रहेछ, एग्रिमेन्ट गर्न बोलाएको छ, कोको जाने हो भनेर कुरा गरिरहेका थिए । त्यहि सन्दर्भमा मैले ‘धेरैपछि खुशीको कुरा सुनियो’ भनेर लेखेको हुँ । शाहले स्पष्ट पारे । तर ‘त्यो भाइरस सखाप’ चैं मैले त्यो किसनेलाई नै भनेको हो । त्यो भाइरसै हो, मसँग प्रमाणै छ ।’, उनले थपे ।

Advertisement

विनय शाह

‘हिन्सले नैतिकताको जिम्मेवारी बहन गर्दै संस्थाको डाईरेक्टर विनय शाहलाई तुरुन्त कारबाही गरि हङकङको नेपाली समाज माझ लिखित माफी माग्न लगाओस् । हिन्सले शाहलाई माफी माग्न नलगाए वा निजलाई कुनै कार्बाही नगरे आगामी दिनमा किराया हङकङ बाध्य भई कठोर भन्दा कठोर अन्य कारबाही गर्न अगाडि बढ्ने जानकारी गराउँछौं ।’, विज्ञप्तीमा भनिएको छ । तर हिन्सले भने शाहलाई होइन, त्यो च्याट लिक गर्ने व्यक्तिमाथि चाहिँ कारबाही गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

किसन राईको मृत्युप्रति शाहको उक्त अभिव्यक्तिका कारण राईको मृत्युमाथि धेरैले आशंका व्यक्त गर्ने अवस्था समेत सिर्जना भएको परिवार स्रोतले बताए । ‘कसैको मृत्युप्रति यति धेरै खुशी हुनु अति अमानवीय हो ।’, हङकङस्थित जुनु दिव्या रानाले बताइन् । मृत्युप्रति यति अमानवीय रुपमा प्रस्तुत भइरहँदा पनि हङकङका केहि जिम्मेवार संस्था र व्यक्तिहरूको मौनताप्रति उनले आक्रोस व्यक्त गरिन् । ‘सहिलाई सहि भन्न/लेख्न नसक्ने यहाँका भिन्नभिन्न संस्थाका टाउकेहरू टाउको लुकाउनुस् । जाबो सत्य त बोल्न थरथर काप्नुहुन्छ भने के समाजको रक्षा गर्नुहुन्छ ? चन्दा संकलन गर्ने र खादा लाउन मात्रै अध्यक्ष हुनु हो ? खै नैतिक मर्यादा ? खै त आँट ? गलत प्रवृत्ति गलत हो भन्न नसक्नेले “श्रद्धाञ्जली” नदिनु नलेख्नु । देखवटी श्रद्धाञ्जली दिनु भन्दा चुपचाप बस्नु । व्यर्थमा आत्माले सराप्ला ।’, उनले सामाजिक संजालमा लेखेकी छन् ।

गत कात्तिक ७ गते (२४ अक्टोबर) का दिन साँझ काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा किसन राईको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा भीरबाट लडेर मृत्यु भएको थियो । यद्यपी पोष्टमार्टम रिपोर्ट भने आइससेको छैन । उता राईका शुभचिन्तकहरू लडेर मृत्यु भएको भन्नेमा उत्ति विस्वस्त छैनन् । ‘आदिवासी जनजाति समानन्तर संस्था खोल्न नेपाल जानुभएको थियो, वहाँले नेपालबाट सामाजिक संजालमा लेख्नुभएको स्टाटस हेर्दा यो कोणबाट पनि अनुसन्धान गर्न मिल्ला कि ?’, एकजना शुभचिन्तकले नेपाल मामिलालाई बताए ।

किसन राईको मृत्युले हङकङबासीहरूले अभिभावक गुमाएको महसुस भएको शुभचिन्तकहरू बताउछन् । राईका मृत्युको खबर सुन्ने वित्तिकै शाहले दिएको ‘एउटा भाईरस सखाप, खुसीले मन नाचिरहेको छ’ भन्ने अभिव्यक्तिले शोकाकुल परिवार, आफन्त र शुभचिन्तकमा गहिरो चोट पुगेको बताउछन् ।

विनय शाह हिन्सको डाइरेक्टर हुन् । स्रोतका अनुसार स्वः किसन राई र शाहबीच एनआरएनए हङकङको महासचिवमा प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा किसन राईले शाहलाई हराएका थिए । त्यसबेला शाहले पाकिस्तानी नागरिक प्रयोग गरी राई प्यानलका एक उम्मेदवारलाई कुट्न लगाएको भन्ने आरोप छ । यद्यपी प्रमाणीत भने भएको छैन । उक्त मुद्धा भने अदालतमा अझै बाँकी रहेको भन्ने सुनिएको पनि स्रोतले जनाएको छ ।

स्व. किसन राईका योगदानहरू
किराया हङकङमा गरेका कार्यहरूः
१. किराया कार्यकारी सदस्य (२००६–२००८)
२. किराया उपाध्यक्ष (२००८–२०१०)
३. किराया अध्यक्ष (२०१०–२०१२)
४. किराया सल्लाहकार (२०१२–२०१८)
५. किराया उपकुलपति (२०१८–२०२१)
६. किराया संरक्षक (२०१८–२०२१)
७. किरात वाहिङ राई सुम्निखिम संरक्षक एवं सल्लाहकार

किराया हङकङमा गरेका योगदानहरू
१. सोसाईटिज अर्डिनेन्स (च्याप्टर १५१) अन्तरगत दर्ता भएको किरात राई यायोक्खाले चुलाघर खरिद
गर्न नमिल्ने भएकोले ईन्ल्याण्ड रेभेन्यु अर्डिनेन्स (च्याप्टर ११२ को सेक्सन ८८ अनुसार) च्यारिटेवल
संस्थामा परिणत ।
२. किरात राई यायोक्खा चुलाघरमा सामूहिक धामी श्री श्रेष्ठ बहादुर राईज्यु र नारायण प्रसाद
राईज्युको नियुक्ति गरि किरातहरूको संस्कार गरिदिने चलन ।
३. किराया अन्तराष्ट्रिय सम्मेलन २०११ मा हङकङको तर्फबाट मौलिक किरात धर्म–संस्कार र सामुहिक चुलाको आवश्यक्ता बारे कार्यपत्र प्रस्तुत ।
४. किरात राई यायोक्खा हङकङले हरेक बर्ष मनाउने साऊने संक्रान्ति चाडमा ५ बर्ष भन्दा माथिका जेष्ठ किरात राईहरूलाई सम्मान गर्ने चलन ।
५. किरात राई यायोक्खा हङकङले हरेक बर्ष प्रकाशन गर्ने यलम्वर स्मारिकाको सम्पादन (चौथो अंकदेखि हाल २० औं अंक सम्म) ।

किराया हङकङको योजना अनुसार किसन राईले गर्न बाँकी जिम्मेवारीहरू
१. किरात राई प्रज्ञा प्रतिष्ठानले तयार गरिरहेको नेपालको किरात राईहरूको ईतिहास संकलन गर्न बाँकी ।
२. नरजित राईज्यु द्वारा लिखित हङकङको किरात राईहरूको ईतिहास सम्पादन गरि छपाउन बाँकी ।
३. सामुहिक चुलाघरमा अन्तरजातिय विवाहलाई स्विकार्ने सम्बन्धि अन्तरक्रिया गर्न बाँकी ।
अन्य संघ संस्थामा आवद्ध
१. आदिवासी जनजाति महासंघको अध्यक्ष
२. नेपाल पत्रकार महासंघको अध्यक्ष
३. नेपाली साहित्य परिषदको अध्यक्ष,
४.. अन्तराष्ट्रिय जनजाति सम्वनय समितिका सदस्य एवं संस्थापक
५. एनआरएनका केन्द्रीय सदस्य एवं आईसिसी
६. गोर्खा सिमेन्ट्री ट्रस्टका सल्लाहकार
७. च्याम्वर अफ कमर्शका सल्लाहकार
८. साझा साहित्य श्रृंखलाका सल्लाहकार
९. धरान हङकङ मञ्चका सल्लाहकार एवं संस्थापक
१०. जनता संघीय समाजवादीका सल्लाहकार एवं संस्थापन सचिव
११. एभ्रेष्ट मासिकका अध्यक्ष, प्रकाशक, सम्पादक

एभेरेष्ट मासिकबाट किसन राईले गरेका भण्डाफोरहरू
१. निमुखा सोझा नेपालीहरूलाई पैसाको प्रलोभन पारी हङकङ ल्याएर विल्लीवाट वनाउने तस्करहरूको भण्डाफोर ।
२. संघसंस्था देखाएर पीडितको नामको पैसा र संस्थाको नाममा उठाएको डलर हिनामिना गर्ने भ्रष्टहरूको भण्डाफोर ।
३. नक्कली परिचय कार्ड वोकी अनेकौ गैरकानुनी धन्दा चलाउने व्यक्तिहरूको भण्डाफोर ।
४. घरेलु कामदारलाई यौन शोषण गर्ने यौन पिपासुहरूको भण्डाफोर ।
५. व्यावसायी र व्यक्तिहरूसंग जवरजस्ति हप्ता असुली गर्ने नक्कली डनहरूको भण्डाफोर ।
६. अध्यागमन र नक्कली कागजात वनाउने २ नम्वरी नटवरलालहरूको भण्डाफोर ।
७. जनताको नुन खाई जनतालाईनै दुःख दिने नेपाली महावाणिज्यदूत कार्यालयको भण्डाफोर ।
८. गैरकानुनी सुन र डलरको हुन्डी गर्ने हुन्डीवालहरूको भण्डाफोर ।
९. सोझा अन्धो भक्तहरूलाई मुर्गा वनाई छोराछोरी जन्माउने र आफूलाई ईश्वर स्वघोषित गर्ने धार्मिक गुरुहरूको भण्डाफोर ।
१०. मजदुर कम्पनि चलाई मजदुर र आफ्नै कर्मचारीहरूको लाखौं डलर कुम्ल्याउने सामन्ती मालिकहरूको भण्डाफोर ।
११. एयरलाईन्सका कर्मचारी र नेतासंग मिली मनपरी भाडा वढाउने कमिशनखोरी दलालहरूको भण्डाफोर ।