सिड्नी । अस्ट्रेलियामा श्रीमानको हत्या गरेकी एक नेपाली महिलालाई अस्ट्रेलियाको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ । रक्सी पिएर आएको श्रीमानसँग पैसाको कारण विवाद बढ्दै गएपछि कैंची प्रहार गर्दा ज्यान गएको घटनालाई अदालतले भवितब्यका रूपमा मान्दै उनलाई तीन वर्षको मात्र सजाय सुनाएको हो ।
सिड्नीको ग्रानभिल एरीयामा अटो ग्यारेज सञ्चालन गर्दै आएका नेपाली युवा सन्तोषको घरायसी झगडा हुँदा आफ्नै श्रीमतीद्वारा कैची प्रहार गर्दा ज्यान गएको थियो ।
सन् २०१९ नाभेम्बर २३ मा स्थानीय ग्रानभिलमा भएको घटनामा उनका पति ३४ वर्षीय सन्तोषको ज्यान गएको थियो । सुरूमा सन्तोषले उनलाई कैंचीले तिघ्रामा हानेको र यसैका आवेगमा आफूले प्रतिवाद गर्दा घटना भएको उनले बताएकी थिइन् ।
आफूहरूबीच पैसाको विषयलाई लिएर विवाद भएको अदालतसमक्ष बयान दिएकी थिइन् ।
श्रीमान सन्तोषको मदिराको लत भएको र यौन दुव्र्यवहारसमेत गर्ने गरेको उनले बताएकी थिइन् । निज रक्सीको सुरमा घरमा आउने र हरेक पटक यौन सम्पर्कको प्रस्ताव गर्ने गरेकाले आफू आजीत बनेको बताएकी थिइन् । यस्तो यौनसम्पर्क गर्भनिरोधक साधनबीना हुने गरेको र यसैकारण कयौं पटक गर्भपतनसमेत गराउनुपरेको उनले न्यायाधीशसामू बताएकी थिइन् ।
घटना भएको दिन सन्तोष घर आइपुग्दा श्रीमतीले खाताबाट २ हजार डलर झिकिएको थाहा पाएपछि विवाद सुरू भएको उनले बयानको क्रममा बताएकी छिन् । यसक्रममा सन्तोषले सुरुमा जगल्ट्याएर कैंचीले तिघ्रामा करिब २ सेन्टिमिटर चौडा र २ सेन्टिमिटर गहिरो काट्नेगरी छुरा प्रहार गरे । यसको प्रतिवाद गर्दा निजको घाँटीमा लागेको उनको बयान थियो । यसपछि अत्यधिक रक्तश्रावको कारण सन्तोषको मृत्यु भएको थियो । गौतमले उनको हत्या गर्न नचाहेको तर डर मात्रै देखाउन चाहेको तर अदालतमा बताएकी थिइन् ।
उनको मुद्दाको फैसला गर्ने न्यायाधीशलेसमेत यौन दुर्व्यवहारको विषयलाई प्रमुख जोड दिँदै घटना भवितब्यमा हुन गएकाले कम सजायको भागिदार भएको निचोड निकालेका थिए । “प्रायः बिहानको बिहानै मादक पदार्थ सेवन गरी घर आइपुग्नु र आफ्नी श्रीमतीसँग यौन सम्बन्धको माग गर्नु, जो उनी बिरोध वा इन्कार गर्न सक्दैनन् भन्ने लाग्यो ।”, न्यायाधीश लियोनी फ्लेनरीले भनिन् । “सामान्यतया उनको यौन संभोग पीडादायी र असुरक्षित थियो । शन्तोषले कण्डम लगाउन अस्वीकार गरे र उनको गर्भनिरोधको ज्ञान सीमित भएकोले उनी पाँच पटक गर्भवती भइन् । गौतम बच्चा जन्माउन चाहन्थे, तर दम्पतीले त्यो धान्न नसकेपछि उनले पाँचपटक गर्भपतन गराईन् ।” न्याधिशले थपिन् ।
अदालतमा सुनुवाईको क्रममा ती महिलाले नेपाल गएर आफू नयाँ जीवन सुरु गर्न नसक्ने बताए पनि अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय हुनेगरी अपराध गर्ने आप्रवासीलाई जेल सजायपछि देश निकाला गरिने नियम छ ।
परिवारका सदस्य र अन्य कारण यो सम्भव नहुने भन्दै उनले डिपोर्ट नगर्न अनुरोध गरेकी थिइन् । तर अदालतले सो अनुरोधलाई भने स्वीकार गर्न नसकिने बताएको छ ।
उनी तीन वर्ष अर्थात रात र दिन दुबै गनिँदा डेढ वर्ष अर्थात आगामी नोभेम्बरमा सजायमुक्त हुने भएकी छिन् ।
सन्तोष र गुमा गौतमको २००७ मा मागी विवाह भएको थियो । विवाहको हुनुभन्दा २ दुई दिन अघि मात्रै उनिहरुको भेट भएको थियो ।
उनीहरूका एक छोरी पनि छिन् र उनलाई एक नेपाली परिवारले पश्चिम सिड्नीमा राखेर हेरचाह गर्दै आएको छ ।