June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

एनसीसी हरुको विश्व भेला रोकिएको छैन; शुक्रबार पत्रकार सम्मेलन हुँदै

4K

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी आइतबार २४ अक्टोबरमा आयोजना गर्न लागिएको विश्व भेला पूर्व निर्धारित मितिमै आयोजना गरिने आयोजकहरुले जनाएका छन्।

भेला तयारी समितिका संयोजक तथा एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बुद्धि सुवेदीले भेलाको आयोजनाबारे भ्रम छर्न खोजिएको भन्दै दुख व्यक्त गरे। “अहिले एनआरएनए भित्र उत्पन्न संकटबारे छलफल गरि समाधानको उपाय पहिल्याउन हामीले स्वतस्फुर्त रुपमा यो भेला आयोजन गर्न लागेका हौँ। त्यसैले कोहि पनि आत्तिने वा डराउन पर्ने आवश्यकता छैन,” उनले भने।

सबै एनसीसीहरु आयोजक रहेको उक्त भेलाको मूल नारा नै “गैरआवासीय नेपाली संघको एकता: आजको आवश्यकता” रहेको छ।

Advertisement

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पठाएका पत्रहरु, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा छलफल गरी एउटा साझा धारणा बनाउन उक्त भेला डाकिएको आयोजकहरुले जनाएका छन्।

१८ वर्ष पहिले स्थापित संघका एनसीसीहरुले आफ्नै पहलमा विश्व भेला बोलाएको यो पहिलो पटक हो।

निकासका लागि विश्व भेला’

“संघको दशौँ महाधिवेशन स्थगित भएको छ, तर नयाँ मिति तोकिएको छैन। चुनाव कहिले हुने भन्ने बारे पनि यकीन छैन। संघ इतिहासकै संकटपूर्ण घडीमा पुगेको बेला मूकदर्शक बनेर बस्नु भन्दा आपसी छलफलद्वारा समस्याको समाधान र निकासका लागि हामीले विश्व भेला बोलाएका हौँ,” भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले भने।

भेला सम्पन्न गर्नकोको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको संयोजकत्वमा तयारी समिति गठन गरेका छन्। तत्काल समन्वय तथा संयोजन गर्न ९ सदस्यीय तयारी समिति बनाइएको छ। सम्पूर्ण एनसीसीका अध्यक्षहरु नै भेलाका आयोजक हुनेछन्।

तयारी समितिको संयोजकमा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी रहेका छन् भने सदस्यहरुमा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर, एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनसीसी क्यानाडाका अध्यक्ष दीपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रे, एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगर तथा एनसीसी दक्षिण अफ्रिकाका अध्यक्ष पुष्पराज भट्टराइ रहेका छन्।

“हामीले केन्द्रीय अध्यक्ष कुमार पन्त, प्रमुख संरक्षक शेष घले, सबै पूर्व अध्यक्षज्यूहरु तथा सल्लाहकारज्यूहरुलाई भेलाको उद्घाटन समारोहमा निमंत्रणा गरेका छौं। उद्घाटन समारोह पछि हुने बन्द सत्रमा एनआरएनएमा उत्पन्न पछिल्लो परिस्थितिबारे खुल्ला छलफल गरिने छ र पत्रकार सम्मेलन गरी बैठकका निस्कर्षहरु सार्वजनिक गर्ने छौं,” तयारी समितिका एक जना सदस्य तथा एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले भने।

परराष्ट्र मंत्री डा. नारायण खड्कालाई पनि विशिष्ट अतिथिको रुपमा निमंत्रणा गरिएको आयोजक निकट सूत्रले जनाएको छ। विश्व भेलाबारे जानकारी दिन शुक्रबार नेपालको समय बेलुका ७ बजे पत्रकार सम्मेलन गर्न लागिएको सुबेदीले जानकारी दिए ।