June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

गैर–आवासीय नेपाली संघ यूकेको नयाँ कार्यालयको प्रमुख संरक्षक शेष घलेद्वारा भव्य उद्घाटन (फोटो फिचर)

3.7K

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. शेष घलेले एनआरएनएलाई संयुक्त राष्ट्र संघको मोडेलमा लानु पर्ने धारणा राख्नु भएको छ । गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एनसीसी यूके) को नयाँ कार्यालयको उद्घाटन समारोहलाई सम्बोध गर्दै पूर्व अध्यक्ष डा. घलेले एनआरएनलाई नेपाली समुदायको संयुक्त राष्ट्र संघको मोडेलमा लानु पर्ने सुझाव दिनु भएको हो ।

सोही अवशरमा उनले भने “अमेरिका, युके, अस्ट्रेलिया र जापान संघका चार ओटा पिलरहरु हुन् । यो एउटा संस्था होइन, एउटा संजाल हो । यसमा आइसीसीले एनसीसीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गर्नु पर्छ र त्यस्तो समझदारी पत्र फरक फरक पनि हुन सक्छ ।” साथै डा. घलेले आफ्नो कार्यकालमा तयार पारिएको भिजन–२०२० एण्ड बियोंड भन्ने दस्ताबेज अझै कार्यान्वयनमा नल्याइएको भन्दै दुख समेत व्यक्त गरेका थिए ।

त्यस्तै सो समारोहमा भाग लिन अमेरिकाबाट आएका एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा. केशब पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा चुनाव अनिश्चित बन्न पुगेको बताए । उनले अहिले एमआइएस प्रणाली संस्था कब्जा गर्ने उद्देश्यले कार्यान्वायन गरिएको आरोप पनि लगाए । सन् (२०२१–२३) कार्यकालका लागि ‘टिम कुल’ बाट महासचिव पदका उम्मेदवार डा. पौडेलले एनसीसीहरुलाई स्वतन्त्र र स्वायत्त बनाउनु पर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रमको अवशरमा संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले संघलाई संकुचित घेरा भित्र राख्न खोजिएको आरोप लगाए । उनले पर्वत जिल्लामा एक सामान्य किसन परिवारमा जन्मिएर एनआरएन अभियानमा निरन्तर योगदान दिइ रहेका कुल आचार्यलाई आगामी चुनावमा अध्यक्ष पदमा जिताउन आह्वान समेत गरे ।

कार्यक्रममा नेपाली दूतावासकी उप नियोग प्रमुख रोशन खनाल, एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए युकेका पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, उपाध्यक्ष नारायण कंडेल, संघको केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवार थर्क सेन, कोषाध्यक्ष पदका उम्मेदवार राजन त्रिपाठी, सह कोषाध्यक्ष पदका उम्मेदवार ललित न्यौपाने, युरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार सन्तोष भट्टराई, युरोप क्षेत्रीय उप संयोजक पदका उम्मेदवार दयानिधि सापकोटा, एनआरएनए यूकेपूर्व महासचिव राजकुमार त्रिपाठी, तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङ, जन सम्पर्क समिति युकेका सभापति युबराज गुरुङ, तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ, पत्रकार भगीरथ योगी लगायतका वक्ताले मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभापति तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले नयाँ कार्यालयको उद्घाटन पछि कार्यालयको काम व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका थिए ।

‘एनआरएन डे’ को अवसर पारेर आयोजित समारोहमा प्रमुख अतिथि डा. घलेले केक काटेर खुसियाली मनाएका थिए । उक्त कार्यक्रमको संचालन प्रवक्ता भरतमणी चोङबाङ, महासचिव खुसि लिम्बु र उपाध्यक्ष गोबिन्द खरेलले सञ्चालन गरेका थिए । कार्यक्रममा सुभकामना मन्तव्य उपाध्यक्ष मोहन कार्कीले राखेका थिए भने उपस्थित सबैलाइ धन्यवाद मन्तव्य पाध्यक्ष नारायण कंडेलले राखेका थिए ।

कार्यक्रममा हाल अस्वस्थ्य रहेकी पूर्व एनआरएन आइसिसी सदस्य शान्ति थापा कुँवरलाई सम्पूर्ण नेपालीको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रमका प्रमुख अतिथि डा. घलेको बाहुलीबाट पुष्पगुच्छा र दोसल्ला ओढाएर सम्मान गरेका थियो ।

कार्यक्रमको संयोजन संघका प्रवक्ता भरतमणी लिम्बू र सञ्चालन महासचिव खुशी लिम्बूले गरेका थिए ।